
काठमाडौँ। पेरूको नाज्का सहरनजिक शनिबार पर्यटकहरू बोकेको एउटा विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको मृत्यु भएको छ ।
एजेन्सीहरूका अनुसार विमानले नजिकैको इका सहरबाट उडान भरेको थियो । २,००० वर्ष पुरानो नाज्का लाइन्स अवलोकन गराउने क्रममा विमान नाज्का लाइन्स नजिकै खेतमा खसेको थियो । दुर्घटनालगत्तै विमानमा आगलागी भएको थियो ।
विमानमा दुईजना पाइलटसहित ११ जना पर्यटक सवार थिए । दुर्घटनापछि विमानको भग्नावशेष वरिपरि जलेका शवहरू फेला परेका थिए ।
अधिकारीहरूले हालसम्म मृतकहरूको पहिचान सार्वजनिक गरेका छैनन्। उनीहरू कुन–कुन देशका नागरिक थिए भन्ने विवरण पनि खुलाइएको छैन ।
दुर्घटनामा परेको विमान पेरूको एरोडियाना कम्पनीले सञ्चालन गरिरहेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।
