
हरितालिका तीजलाई लक्षित गर्दै गीतकार नवराज रायमाझीले नयाँ मौलिक तीज गीत सार्वजनिक गर्ने तयारी गरेका छन्।
नेपाली तीज संस्कृतिको मौलिकता जोगाउने उद्देश्यले तयार पारिएको यस गीतमा महिलाका भावना, माइतीप्रतिको माया, सामाजिक यथार्थ तथा तीजको परम्परागत मूल्यलाई कलात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
गीतमा नवराज रायमाझीकै शब्द रहेको छ भने स्वर चर्चित गायिका प्रयुसा न्यौपानेको रहेको छ। संगीतकार महेश खड्काले संगीत भरेको यो गीत केही दिनभित्रै आकर्षक भिडियोसहित सार्वजनिक गरिने तयारी गरिएको छ। यस गीतको विशेषता भनेको भिडियोमा स्वयं गीतकार रायमाझीले अभिनय गर्नु हो।
उनलाई अभिनेत्री आयुस्मा कार्कीले मुख्य भूमिकामा साथ दिएकी छन्। भिडियोको छायांकन सम्पन्न भइसकेको र गीत सार्वजनिक भएकै दिन दर्शकमाझ भिडियो पनि एकसाथ ल्याइने निर्माण पक्षले जनाएको छ। गीत सार्वजनिक भएपछि एआर इन्टरप्राइजेसको आधिकारिक युट्युब च्यानलसँगै गीतकार नवराज रायमाझीको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत दर्शक तथा स्रोताले हेर्न र सुन्न सक्नेछन्।
गीतबारे आफ्नो धारणा व्यक्त गर्दै रायमाझीले पछिल्ला वर्षहरूमा तीज गीतको मौलिकता कमजोर बन्दै गएको चर्चा भइरहेका बेला आफूहरूले परम्परा, संस्कृति र सामाजिक सन्देशलाई केन्द्रमा राखेर सिर्जना गरेको बताए।
उनका अनुसार यो गीत केवल मनोरञ्जनमा सीमित नभई नेपाली चेलीहरूको भावना, जीवन भोगाइ र तीजको वास्तविक मर्मलाई उजागर गर्ने प्रयास हो। निर्माण पक्षले यस वर्षको तीजमा मौलिक स्वाद बोकेको यो गीतले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया र माया पाउने विश्वास व्यक्त गरेको छ।



