
गीत
वसन्तराज अज्ञात
किन होला अनेक थरी कुरा खेली बस्छ
यो हुने कि त्यो हुने हो ? मनमा डर पस्छ
जिन्दगी त यसै पनि अन्त्य हुन्छ एक दिन
यस्तो सोच्छु बेलाबेला– मरीमरी बाँच्ने किन
यति कुरा बुझ्दाबुझ्दै यति कुरा मान्दामान्दै
किन होला मगजभरि आशङ्काले डस्छ
यो हुने कि त्यो हुने हो ? मनमा डर पस्छ
आएपछि जानैपर्ने बाध्यता त छँदै छ नि
जन्म–मृत्यु जीवनको –रीत पक्कै हुँदै हो नि
यति कुरा जान्दाजान्दै यति कुरा मान्दामान्दै
किन होला छातीबीच त्रासले बास गर्छ
यो हुने कि त्यो हुने हो ? मनमा डर पस्छ ।






