
काठमाडौँ। काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
काठमाडौं प्लाजामा स्थापना गरेको ल्याबको बुधबारबाट सञ्चालनमा ल्याइएको हो ।
काठमाडौं महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता ढंगालले एक कार्यक्रमका बीच ल्याव सञ्चालनको शुभारम्भ गरेकी थिइन् ।
महानगरले आफ्नै प्रयोगशाला स्थापना गरेसँगै खाद्य नमुनाको परीक्षण छिटो हुने र बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कार्यवाहक प्रमुख डंगोलले बताइन् ।
‘काठमाडौं महानगरपालिकाले धेरै पहिलेदेखि नै माईक्रो वायोलजी ल्याव स्थापना गर्ने प्रयास गरेका थियौं, यो आज स्थापना गरेका छौं । हामीले बजार अनुगमनलाई निरन्तरता दिएका छौँ, अनुगमनको क्रममा धेरै समस्याहरु देखिने गरेका छन् । अनुगमनको क्रममा कतिपय वस्तुहरुको ल्याब टेस्टमा पठाउनुपर्ने हुन्छ, कतिपयमा दण्ड जरिवाना पनि गर्नुपर्ने हुन्छ,’ उनले भनिन् ।
यसअघि आफ्नै ल्याव नहुँदा परीक्षण प्रतिवेदन आउन ढिलाइ हुँदा अनुुगमन प्रभावकारी हुन नसकेको उनको भनाइ छ । आफ्नै प्रयोगशालाबाट प्रारम्भिक परीक्षण गर्न सकिने भएकाले अनुगमनलाई तिब्र र प्रभावकारी बनाउन सहज हुने उनले बताइन् ।


