
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन् ।
०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भएका बखत ओली प्रधानमन्त्री थिए ।
शुक्रबार ९असार १२० आयोग पुगेर ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले उक्त प्रतिवेदन माग गर्दै निवेदन दर्ता गराएका छन् । “शुक्रबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट मैले गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी आयोगले गरेको भनिएको छानबिन तथा अनुसन्धान प्रतिवेदन, निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजातहरू उपलब्ध गराउन माग गर्दै औपचारिक निवेदन दर्ता गराएको जानकारी गराउँदछु,” उनले भनेका छन् ।
जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । आयोगको प्रतिवेदनप्रति ओलीले असन्तुष्टि जनाएका छन् ।
“एकातर्फ तत्कालीन प्रधानमन्त्रीको हैसियतमा मैले गरेको कामकारबाही कानुनविपरीत नभएको निष्कर्ष छ भने अर्कोतर्फ जो घटनामा संलग्न छैन, जसले कानुनको उल्लंघन गरेको छैन र जसलाई देशको संविधान र कानुनले कुनै कारबाही गर्न मिल्दैन उसलाई पश्चात्दर्शी कानुन बनाएर कारबाही गर्न सिफारिस गरेको भनी उल्लेख गरेको निर्णय मानव अधिकार आयोगबाट भएको हो भन्ने कुरामा मैले विश्वास गर्न सकेको छैन,” निवेदनमा उल्लेख छ ।


