
लघुकथा
अन्तर्वार्ता
डा. श्यामप्रसाद न्यौपाने
‘नमस्कार ! यहाँलाई स्वागत छ, कार्यक्रम ‘जनताको अदालतमा’।’ पत्रकारले स्वागत गर्दै भने ।
‘धन्यवाद।’आगन्तुकले प्रत्युत्तर दिँदै आसन ग्रहण गरे ।
‘हरेक राजनीति पार्टीको उद्देश्य के हो ?’ पत्रकारले जिज्ञासा राखे ।
‘देश र जनताको स्वतन्त्रताको रक्षा र समृद्धि ।’ अगुवाले जवाफ दिए ।
‘त्यो त भन्ने कुरा भयो । अगुवाहरूको व्यक्तिगत स्वार्थ कत्तिको हुन्छ ?’ पत्रकारले फेरि सोधे ।
‘देश समृद्ध भएपछि देशका जनता, नेता सबै समृद्ध भएनौँ र ? त्योभन्दा अर्थोक के स्वार्थ हुनु ? अगुवाको व्यक्तिगत कुनै स्वार्थ हुँदैन, देश र जनताको स्वार्थ नै सर्वोपरि स्वार्थ हो ।’ उनले स्पष्ट पारे ।
‘हजुर त कुनै समयमा पार्टी’क’को जिल्ला महासचिव हुनु भो । पार्टी ‘ख’को जिल्ला उप सभापतिको पनि अनुभव छ हजुरलाई । त्यस्तै पार्टी ‘ग’को सचिव र पार्टी ‘घ’को सह सचिवसम्म हुनु भो । होइन र !’ उनले सोधे ।
‘हो, ती ती पद मेरो चाहनाले पाएको होइन, साथीहरूले ती ती पदमा तपाईं बस्नैपर्छ भनेर आग्रह गरेकाले साथीहरूको आग्रहलाई नकार्न नसकेर सहर्ष स्वीकार गरेको हुँ मैले ।’ अगुवाले भने ।
‘ती पार्टीमा बसेर देश र जनताको समृद्धिको लागि काम गर्न कसले रोक्यो हजुरलाई र फेरि अर्को पार्टीमा सर्नु भो ? तपाईं जतिखेर पनि शक्तिमै टाँसिइरहन खोज्ने अवसरवादी नेता त होइन नि !’ पत्रकारले जिज्ञासा राखे ।
‘(हाँस्दै) होइन, होइन । त्यसो होइन । यता पनि म आफ्नो मर्जीले होइन, साथीहरूकै आग्रहमा आएको हुँ । साथीहरूको अनुरोध नकार्न नसक्नु मेरो कमजोरी हो । साथीहरूले यता नेतृत्व लिइदिन अनुरोमात्रै होइन, आग्रह नै गर्नुभयो । के गर्नु ? टार्न सकिनँ । ठिकै छ त नि ! भनेर यता आएँ । यता पनि भाइटल पोस्ट पाए ठिकै हो नत्र ।’ उनी बोल्दा बोल्दै रोकिए ।
‘जनताको अदालत’ कार्यक्रमको निर्धारित समय सकिएकोले पत्रकारले कार्यक्रम सकिएको सङ्केत गरे ।


