
काठमाडौं असार ८ गते ।नेपाल आर्मीका सुजन गडाल र भिजन एकेडेमीकी दीक्षा दाहालले दोश्रो मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला पुरुष एकलमा सुजन तथा महिलामा दीक्षा पहिलो भएका हुन् ।
बनेपास्थित केएमसी हलमा भएको प्रतियोगिताको पुरुषमा नेपाल प्रहरीका संयोग कपाली दोश्रो तथा भिजनका हिमाल विष्ट र एभीएमका प्रजिल भट्टराई तेश्रो भए । महिलामा एभीएमकी वियंका राई दोश्रो तथा भिजनकी योङगी पौडेल र प्रहरीकी सुस्मिता खड्का तेश्रो बने ।
बनेपा नगर टेबलटेनिस संघको आयोजना तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको यु–१८ सिंगल्सको ब्वाइजमा एभीएमका जयस्नु महर्जन तथा गल्र्समा एभीएमकै अर्सना महर्जनले स्वर्ण जिते ।
भेट्रान ४० वर्षमाथि पुरुष एकलमा चन्दन शाही, ४५ वर्षमाथि पुरुष डबल्समा चन्दन शाही र रक्तमान महर्जन तथा ५५ वर्षमाथि पुरुष एकलमा राजेन्द्र वज्राचार्यले स्वर्ण जितेको प्रतियोगिता संयोजक विशसुन्दर गोथेले जनाएका छन् ।







