
काठमाडौँ।नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी)महिला प्रिमियर कपमा सुखद् सुरुआत गरेको छ ।
नेपालले बुधबार सम्पन्न समूह ‘डी’अन्तर्गतको पहिलो खेलमा कतारविरुद्ध आठ विकेटको जित निकालेको हो ।
मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा कतारले प्रस्तुत गरेको ७७ रनको लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।नेपालकी विन्दु रावलले सर्वाधिक ३३ रनको योगदान गरिन् । पूजा महतो २८ र कप्तान इन्दु बर्मा ६ रनमा अविजित रहे ।
कतारका शाहरीनवाब खान र खादिजा अहमद इमिताजले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङका लागि आएको कतार १६.५ ओभरमा ७६ रनमा समेटिएको थियो ।
कतारका गेट्रुड चन्डिरुले २५ र कप्तान आयशाले १० रन जोडिन ।
नेपालकी रुबिना क्षेत्रीले तीन विकेट लिइन् । रिया शर्मा, कविता कुँवर र पूजा महतोले एक–एक विकेट हात पारे ।
जितसँगै नेपालले दुई अंक जोडेको छ ।




