
काठमाडौँ।अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मृत्यु भएका इरानका पूर्वसर्वोच्च नेता आयातुल्लाह अली खामेनीको तीन महिनापछि औपचारिक रुपमा अन्तिम संस्कार गर्ने तयारी थालिएको छ ।
उनको गत फेब्रुअरी २८ मा आफ्नै निवासमा भएको हवाई हमलामा परी निधन भएको थियो । इस्लामिक परम्परा अनुसार सामान्यतया मृत्यु भएको केही दिनभित्रै अन्त्येष्टि गरिनुपर्ने भए पनि इरान सरकारले यसलाई अनिश्चितकालका लागि स्थगित गरेको थियो ।
इरानको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै तेहरानका उपमेयर मोहम्मद अमिन ताभाकोली जादेहले शवयात्रासहित ‘सुपर्द–ए–खाक’ (अन्त्येष्टि) गरिने र त्यसको तयारी विभिन्न शहरहरुमा जारी रहेको जानकारी दिएका छन् ।
उनले मंगलबार दिएको जानकारी अनुसार अन्त्येष्टिको कार्यक्रम शोक महिनाको सुरुआत ९महुर्रम०मा गरिने छ । चन्द्र पात्रोका आधारमा यो कार्यक्रम मध्य जुनमा पर्नसक्ने बताइएको छ । इस्लामिक पात्रो (हिजरी क्यालेन्डर) चन्द्रमामा आधारित हुन्छ । सो पात्राको वर्षको पहिलो महिना मुहर्रम हो । मुहर्रमलाई शिया मुस्लिम समुदायमा विशेष रूपमा शोकको समय मानिन्छ ।




