
चर्चामा पुस्तक
पासो
इन्दिरा अधिकारी सुनाखरीको कविताकृतिभित्र ९५ थान कविताहरु रहेका छन् । कविताहरु माक्र्सवादी सौन्दर्यशास्त्रीय हिसावले आएका छन् । कवि माक्र्सवादी चिन्तक हुन भन्ने कुरा कविताहरु पढेपछि थाहा पाइन्छ । विषयवस्तुका हिसावले भुइँमान्छेका सवालमै कविताहरु धेरै छन् । उत्पीडितकै पक्षमा बोलिएका छन् ।
साँस्कृतिक रुपान्तरणका कुरा गर्छन् कविताहरु । समाजमा व्याप्त विकृति र विसङ्तिहरु विरुद्ध जेहाद छेड्छन् कविता । श्रम र पसिनाको पक्ष लिन्छन् कविता । जनताका आधारभूत अधिकारहरुको पक्षमा वकालत गर्छन् । आशावादी भएर यथार्थवादी भावमा टेकेका छन् ।
सरल छन् । आकारमा छोटा छन् ।
पासोलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.३००। रहेको छ ।
विश्वकर्मा भोजनालय
गङ्गाप्रसाद भेटवालको दोस्रो उपन्यास हो । उपन्यासको मूल विषय जातीय विभेद रहेको छ । कथामा त्रिकोणात्मक प्रेम छ मातृ पितृ,सन्तान र युगल जोडीको ।नेपाली समाजको जातीय परम्परामा गम्भीर प्रश्न उठान गरिएको छ । दलित शब्दलाई नै खारेज गर्नुपर्छ भन्ने दृष्टिचेत उपन्यासकारको रहेको छ। प्रवासिन बाध्य नेपालीका पीडा र मर्महरु उपन्यासले चित्रण गरेको छ ।
देशप्रेमको भावलाई उजागर गरेको उपन्यास नेपाली समाजको मनोदशा उतार्न सक्षम देखिएको छ । मानवीयता च्यूत हुँदै गएको वर्तमानमा मानवीय मूल्य र मान्यताको पक्षमा बोलिएको छ । प्रेम जातभन्दा माथि हुन्छ भन्ने दृष्टान्तको कथा मीठोसँग दर्शाइएको छ।उपन्यासले सामाजिक रुपान्तरणमा सहयोगी भूमिका खेलेको देखिन्छ ।
सरस भाषाशैली,मौलिक र झर्रा शब्दहरुको प्रयोगले उपन्यास झन सुन्दर बनेको छ ।
विश्वकर्मा भोजनालयलाई अनुसन्धान विमर्श नेपालले बजारमा ल्याएको हो । यसको मूल्य रु.४०५। राखिएको छ ।
युद्ध युद्ध नै हुन्छ
युबराज अधिकारीको कविता कृति भित्र ३३ थान कविता छन् । युद्ध र प्रेम,समाज र देशप्रेम छ कवितामा । वर्तमान राजनीतिको बिद्रुप चरित्र,युवामा आएको डिप्रेसन र पलायन जस्ता विषयहरु कवितामा छन् । उनी शान्तिको पक्षमा लामबद्ध छन् ।
प्रबाहमय भावमा आएका कविताहरु शिल्प सौन्दर्यले भरिएका छन् ।देशप्रेम,माटोको मायामा लछप्पै रुझेर कविता लेखिएका छन् ।सहज र सामान्य लागेपनि गहन अर्थ बोकेका कविता छन् । काव्यिक चेतले अग्लिएका कविता छन् ।
बिम्बको आवश्यकतानुसार प्रयोगले कविता सुन्दर बनेका छन् ।
युद्ध युद्ध नै हुन्छलाई इन्डिको इनले बजारमा ल्याएको हो । यसको मूल्य रु.४९९। रहेको छ ।







