काठमाडौं । पत्रकार तथा लेखक निर्मलकुमार आचार्यको नियात्राकृति ‘जहाँ छचल्किए भावना’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्राकार प्रतीक ढकाल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. भरतकुमार भट्टराई लगायतले कृति लोकार्पित गरे।
प्रमुख अतिथि ढकालले आचार्यको नियात्राकृतिले पाठकलाई देश विदेशका विभिन्न ठाउँमा पुर्याउने बताउँदै यात्रा गर्नु भनेको विश्वविद्यालयको भन्दा बढी जानकारी हुनु भएको बताए ।उनले कृतिले सूचनाको सुगन्धबाट तृप्ति दिने गरी निायात्रा आएको बताए ।सूचना संप्रेषणिय दृष्टिले समेत पठनीय भएको बताए ।
सभाका सभापति नियात्राकार ‘रोदन’ले नियात्राको शक्ति भनेको त्यसले पाठकलाई घुमाउन सक्नुपर्छ भन्दै कृतिकारले पाठकलाई ठाउँठाउँ घुमाउने चर्चा गरे । उनले नियात्राको संख्यामा भएको बढोत्तरी तर ओजपूर्ण नियात्रा कम भएको समयमा आचार्यको नियात्राले अरुलाई नियात्रा लेख्न सिकाउने बताए । उनले भने ,’आचार्यका नियात्रा सुन्दर छन् । असाहित्यिक पाठकको लागि पनि उपयोगी हुने किसिममा नियात्रा आएका छन् ।’ उनले अगाडि भने,’ पाठकलाई संगै यात्रा गराउने हैसियत नियात्राले राख्नुपर्छ,त्यो निर्मलका नियात्राले राखेका छन् ।’
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. भट्टराईले कृति सुन खारेजस्तो ढंगले आएको बताए । उनले कृति सुन्दर र सुललित बनेको बताए । उनले कृतिभित्र २०७१ देखि २०८२ सम्म लेखिएका २८ वटा नियात्रा समेटिएको चर्चा गर्दै आचार्यको लेखनमा वर्णनको चातुर्यता रहेको उल्लेख गरे ।उनले सूचनाको सुगन्धबाट तृप्ति दिने ढंगले नियात्रा कृति आएको कुरामा जोड दिए ।
कृतिकार आचार्यले साथीहरूको प्रोत्साहनले नै कृति जन्मिएको बताउँदै पाठकसँग आफ्ना कमि कमजोरी औँल्याइदिन आग्रह गरे ।
कार्यक्रममा राधेश्याम लेकाली,तुलसीहरि कोइराला,नियात्राकार आचार्य लगायतले आआफ्नो धारणा व्यक्त गरे ।
गोरखापत्रका पूर्वप्रधानसम्पादक रहिसकेका कृतिकार आचार्यका यसअघि विभिन्न विधाका १० कृति प्रकाशित भइसकेको छ ।