काठमाडौं । प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद गणेश पराजुलीले कायममुकायम प्रधान न्यायाधीश सपना मल्ललक्षित गर्दै दिएको अभिव्यक्तिलाई नेपाल बार एशोसिएसनले ‘निरङकुशताको बीजारोपण’ भनेको छ ।
बारले यस बिषयमा एक पत्रमार्फत बुधबार सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण समेत गराएको छ ।
सांसद पराजुलीले ‘‘कामु प्रधानन्यायाधीशले सडकबाट दुई तिहाइ सरकारलाई ललकारेको’’ भन्दै सम्बोधन गरेको बिषयमा बारले सभामुख अर्यालको गम्भीर ध्यानाकर्षण गराएको हो ।
‘‘उक्त सम्बोधनबाट दुई तिहाइउपर कसैले केही बोल्न नपाइने भन्ने सन्देश दिन खोजेको आम बुझाइ हुन गएको छ । जो स्पष्टतः निरंकुशताको बीजारोपाण र प्रवद्र्धन हो भन्नेमा कुनै विवाद रहेन,’’ बार महासचिव केदार प्रसाद कोइरालाले सभामुखलाई पठाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
सोही विषयमा नेपाल बार एशोसिएशनका तत्कालिन अध्यक्ष वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर विरूद्ध राष्ट्रिय पञ्चायत भएको मुद्दा (मुद्दा नि.नं. ११९७ ) बाट सर्वोच्च अदालतबाट सिद्धान्त समेत प्रतिपादित भइसकेको पनि बारले जनाएको छ ।
‘‘उक्त विषय स्मरण गराउँदै न्यायालय र न्यायाधीशको कार्य सम्पादनमा असर पर्ने गरी उपरोक्तानुसारको टिप्पणी संसद बैठकमा नहुने प्रबन्ध र रूलिङका निमित्त सम्माननीय सभामुखज्यूसमक्ष नेपाल बार आग्रह गर्दछ,’’ बारले ध्यानाकर्षण पत्रमा भनेको छ ।
सांसद पराजुलीले मंगलबार संसद्मा सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश मल्ललाई दुई तिहाइ नजिकको सरकारलाई नटर्ने भन्दै चेतावनी दिएका थिए ।