काठमाडौं । नेपाली शिक्षा परिषद्ले आफ्नो अमृत महोत्सवको अवसर पारेर १० जना अग्रज व्यक्तित्वहरूलाई अभिनन्दन गरेको छ ।
आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा उमेरले ९० वर्ष पुगिसकेका अग्रज व्यक्तित्वहरूको अभिनन्दन गरेको हो । परिषद्ले १०२ वर्षिय दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दास, डा. महेश्वर शर्मा, भद्रकुमारी घले, प्रा.डा. मृगेन्द्रराज पाण्डे, प्रा. चेतोनाथ शर्मा आचार्य, द्वारिका श्रेष्ठ, हरिराम जोशी, प्रा. शंकरराज पाठक, माधव खनाल भावुक र तेजेश्वरबाबु ग्वंगलाई अभिनन्दन गरेको छ ।
परिषद्की अध्यक्ष रमा शर्माले अग्रज व्यक्तित्वहरूलाई सम्मानपत्रसहित अभिनन्दन गरिन् । कार्यक्रममा १० जनाकै छोटकरी परिचय ज्ञाननिष्ठ ज्ञवालीले दिए ।
उक्तअवसरमा अभिनन्दित व्यक्तित्व डा. लाल दासले टोखामा बस्दाका साहित्य र संगीत सम्बन्धि केही स्मृति साझा गर्दै परिषद्ले गरेको कामको प्रशंसा गरे ।
डा. महेश्वर शर्माले शिक्षा परिषद् र त्यसका संस्थापक गोपाल पाँडे असीमसँगको निकटताको चर्चा गर्दै केही पुराना स्मृति सुनाए ।
कार्यक्रममा भद्रकुमारी घले, प्रा.डा. पाण्डे, प्रा. आचार्य, कवि श्रेष्ठ र जोशीले अभिनन्दनले आफूहरूलाई खुसी लागेको बताए ।
परिषद्की अध्यक्ष शर्माले २००८ सालमा स्थापित शिक्षा परिषद्ले साहित्य, कला र संस्कृतिका क्षेत्रमा गर्दै आएको कामको चर्चा गर्दै संस्थाले २०११ सालमै पहिलोपटक कविशिरोमणि लेखनाथ पौड्यालको अभिनन्दन गरेको बताइन् ।
उनले ९० वर्षभन्दा माथिका अग्रजहरूलाई अभिनन्दन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरिन् । स्वास्थ्यका कारण पाठक, ग्वंग र भावुक कार्यक्रममा अनुपस्थित रहे । तीन अग्रज व्यक्तिलाई तिनका घरमा गएर अभिनन्दन गर्ने शर्माले बताइन् ।
संस्था ७५ वर्षमा प्रवेश गरेको यस अवसरमा एक वर्ष (साउनसम्म) अमृत महोत्सवका रूपमा विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएको शर्माले जानकारी गराइन् ।
कार्यक्रममा शंकरप्रसाद पाण्डेले परिषद्ले गर्दै आएको कामहरूबारे बोले ।