काठमाडौँ ।अमेरिका,क्यानाडा र अष्ट्रेलियालगायत धेरै देशका विश्वविद्यालय र विद्यालयहरूमा साइबर आक्रमण भएको छ ।
ठूलो स्तरको साइबर आक्रमणले शिक्षा प्रणालीलाई नै प्रभावित बनाएको छ ।
‘शाइनीहन्टर्स’ नामक ह्याकर समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणको मुख्य निशाना ‘क्यानभास’ नामको अनलाइन शैक्षिक प्लेटफर्म बनेको छ, जसलाई विश्वभरका हजारौँ विश्वविद्यालय र विद्यालयहरूले अध्ययन, असाइनमेन्ट तथा परीक्षा सञ्चालनका लागि प्रयोग गर्छन् । आक्रमणका कारण अन्तिम परीक्षा र असाइनमेन्टको महत्त्वपूर्ण समयमा व्यापक अव्यवस्था फैलिएको छ ।
यस्तो आक्रमणको कारण धेरै विश्वविद्यालयहरूले परीक्षा स्थगित गर्नुपरेको छ भने विद्यार्थी र शिक्षकहरूमा आफ्नो डाटा तथा शैक्षिक सामग्री सुरक्षित रहने विषयमा चिन्ता बढ्न थालेको छ ।
धेरै विश्वविद्यालयहरूले परीक्षा स्थगित गर्नुपरेको छ भने विद्यार्थी र शिक्षकहरूमा आफ्नो डाटा तथा शैक्षिक सामग्री सुरक्षित रहने विषयमा चिन्ता बढ्न थालेको छ ।
बीबीसीको रिपोर्टअनुसार क्यानभासको मालिक कम्पनी ‘इन्स्ट्रक्चर’ले शुक्रबार अबेर राति आफ्नो वेबसाइटमार्फत अधिकांश प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालन गरिएको जनाएको छ ।
अमेरिकाको मिसिसिपी स्टेट युनिभर्सिटीले विद्यार्थीहरूले सम्भावित रूपमा हराएको काम पुनः प्राप्त गर्न सकून् भनेर शुक्रबारका अन्तिम परीक्षाहरू स्थगित गरेको छ ।
अष्ट्रेलियाको सिड्नी युनिभर्सिटीले विद्यार्थीहरूलाई चेतावनी जारी गर्दै क्यानभास हाल उपलब्ध नरहेको र लग–इन गर्ने प्रयास नगर्न आग्रह गरेको छ । विश्वविद्यालयले यो अवरोधले विद्यार्थीहरूका लागि गम्भीर समस्या सिर्जना गरेको स्वीकार गरेको छ ।