
काठमाडौँ। लघुकथाकार शोभा अधिकारीको लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण भएको छ ।
लघुकथा समाज,नेपालद्धारा राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा अशेष मल्ल,श्रीओम श्रेष्ठ रोदन,प्रा.पुरुषोत्तम दाहाल,तुलसीहरि कोइराला र स्रष्टा अधिकारी लगायतले उक्त कृति लोकार्पण गरे ।
प्रमुख अतिथि अग्रज साहित्यकार एवं नाट्यकर्मी अशेष मल्लले यो दशकमा सबैभन्दा बढी लघुकथा लेखिएको बताउँदै भने, ” हरेक मान्छेसङ्ग कथा छ ।मात्र उसले कसरी उक्त कथालाई प्रस्तुतिकरण गर्छ भन्ने मात्र हो । वास्तबमै कला तागतदार कुरा हो,जसले मान्छेलाई डिप्रेशनबाट समेत बचाउँने सामाथ्र्य राख्छ ।कथा सौन्दर्यबोध गरेर सिर्जना गर्नसके सुन्दर र शक्तिशाली बन्छ ।” उनले नयाँ लघुकथाकृतिको निम्ति अधिकारीलाई बधाई दिंदै लघुकथा वर्तमान अवस्थामा ल्याउन योगदान गर्ने लघुकथा समाज,नेपाल र त्यससङ्ग सम्बद्ध सबैलाई धन्यवाद पनि दिए ।
अर्का अग्रज साहित्यकार समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले पहिलो पुस्तककार रुपमा आफुलाई उभ्याउनु सानो कुरा होइन भन्दै अगाडि भने, “अधिकारीमा बेजोडको दुरदुष्टिचेत छ, आफुले नजिकबाट आत्मसात गरेका र अनुभूति गरेका घट्नाहरुलाई टपक्कै टिपेर लघुकथा बुन्ने शैली रहेको छ ।”
कृतिमाथि टिप्पणी गर्दै समीक्षक अनुपमा रेग्मीले लघुकथाहरु निक्कै अध्ययन र अनुभूतिद्धारा आएका जस्ता देखिएको बताइन । अधिकारीको पुस्तककारमा पहिलो देखिए पनि लेखनीमा भने चिनिएको नाम भएको चर्चा गर्दै उनले भनिन, ” कथाहरु चोटिला छन्,लघुकथाको उठान,बैठान र समापन बडो राम्रो छ ।”
अर्की समीक्षक सुमन वर्षाले भनिन, “नेपाली समाजलाई केन्द्रविन्दु बनाएर लेखिएका लघुकथाहरुमा माया,प्रेम,हार्दिकता,सद्भाव सहित समसामयिक विषयवस्तुमा आधारित छन् र तिनलाई भिन्न ढंगले लेखिएको छ । ” उनले कथाहरु कलात्मक शैलीमा यथार्थजनित भएर आएकोमा जोड दिइन ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल,पद्य्मकन्या कलेजका सहायक क्याम्पस प्रमुख बिमला नेपाल, कवि एवं सञ्चारकर्मी ठाकुर बेलवासे र लघुकथाकार अधिकारी समेतले आआफ्ना मन्तव्य राखे ।
लघुकथा समाज,नेपालका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कवि एवं निबन्धकार श्रीबाबु कार्कीले गरे । समाजकी उपाध्यक्ष शुषमा चित्रकारले स्वागत मन्तव्य राखिन । कार्यक्रममा लोकार्पित कृतिबाट भूपी ऐरले लघुकथा बाचन गरिन ।
यस लघुकथाकृतिमा ४२ थान लघुकथाहरु समावेश छन् ।






