
काठमाडौं/पहिलो पुस्ताका अग्रणी कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त “सङ्घर्षका पानाहरू” शनिबार काठमाडौंमा सार्वजनिक भएको हो।
मानन्धरका समकालीन मित्रहरूसहित मानन्धरका छोरी डा. शान्ति जोशी, छोरा सुनील मानन्धर तथा लेखकहरू हरि रोका, डा. सुरेन्द्र केसी र सङ्गीत श्रोताले संयुक्त रूपमा “सङ्घर्षका पानाहरू” पुस्तक विमोचन गरे।
शनिबार आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा मानन्धरका निकट मित्र कृष्णप्रसाद भण्डारी, त्यसैगरी मानन्धरसँग सहकार्य गरेका पूर्वमन्त्रीहरु नीलाम्बर आचार्य, चन्द्रदेव जोशी, गणेश शाह र ठाकुर शर्मालगायतले मानन्धरको व्यक्तित्वबारे बोले।
२००७ सालको क्रान्तिका एकजना कमान्डरसमेत रहेका मानन्धर २००९ सालदेखि भने जीवनपर्यन्त कम्युनिस्ट आन्दोलनमा रहे। मानन्धरको २०७७ साल चैत १६ गते ९१ वर्षको उमेरमा निधन भइसकेको छ।
‘संघर्षका पानाहरू’ ले नेपालमा लोकतन्त्र, सामाजिक न्याय र राजनीतिक चेतनाको विकासमा योगदान पुर्याउने ऐतिहासिक दस्तावेजका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ। बेला पब्लिकेसन्सले बजारमा ल्याएको हो।