
काठमाडौँ। कथाकार लक्ष्मी शर्माको कथासङ्ग्रह “हजुरआमा “को लोकार्पण सम्पन्न भएको छ ।
अग्रज कथाकार भागिरथी श्रेष्ठ,श्रीओम श्रेष्ठ ‘रोदन’,डा.दीनबन्धु शर्मा र कथाकार शर्मा लगायतले उक्त कृति लोकार्पण गरेका हुन् ।
नेपाल स्रष्टा समाजको आयोजनामा शनिवार राजधानीमा सम्पन्न कार्यक्रममा मानवीय संवेदनाले भरिपूर्ण कथाहरु जुन सत्य घट्नाजस्ता लाग्छन् भन्दै प्रमुख अतिथि भागिरथी श्रेष्ठले भनिन , ‘कथाकार शर्माका कथाका भावनात्मक संवेदनशील पक्षलाई मलाई छोयो । कथाकार सुन्दर प्रतिक प्रयोग गर्न सक्षम भएको प्रष्ट भयो । नेपाली कथामा महिला हस्ताक्षर कृति सहित थपिएकोमा बधाई छ ।’
कृतिमाथि चर्चा गर्दै शेषनाथ पौडेलले भने, ‘वि.सं.२०५५ सालमा पहिलो कथा प्रकाशित गरेकी शर्माका कथाहरुमा नारी पात्रको प्रथम दृष्टिविन्दुबाट लेखिएका कथाहरुको प्रधानता पाइन्छ । कथाहरुको पृष्ठभूमि र कथानकता परिवार वरिपरि घुमेको देखिन्छ । यसका साथै पारीवारिक सम्बन्धका विभिन्न आयामहरुमा कथाहरु लेखिएको पाइन्छ । ‘
उनले प्रायःकथाहरु नारी संवेदनामूलक भएको बताए । कृतिमा समावेश भएका कथाहरुको परिवेश काठमाडौँ उपत्यका र तराईका केहि स्थान रहेको पनि बताए । कथाहरुमा आशावादी चेत रहेको,छोटा आयाम,नारी पुरुषको समआख्यान,समास शैली,प्राकृतिक सौन्दर्यको वर्णन,नारीको समर्पण भाव कथाका विशेषताको रुपमा आफुले पाएको पनि पौडेलले चर्चा गरे ।
अर्का चर्चाकार चुडामणी पौड्यालले शर्माका कथाहरु संस्मरणात्मक र वर्णनात्मक शैलीमा आएको भन्दै महिलाका कथाव्यथा नै कथाहरुका मुख्य विषयवस्तु रहेको बताए । उनले कथाकारको संवेदनशील मन कथाहरुमा पोखिएको बताए । ‘कथामा अनुभूतिपरकता देखिन्छ,जसले पाठकलाई पनि प्रत्यक्ष प्रभाव पार्छ ।’

कथाकार डा.दिनबन्धु शर्माले कथाहरुमा भावनात्मक प्रवाह भएको बताउँदै भने, ‘सर्सर्ती हेर्दा ह्रदयले लेखिएका कथाहरु छन् ।’
‘हजुरआमा’की कथाकार शर्माले जीवनका भोगाइका अनुभूतिहरुलाई कथाको रुपमा ल्याएको भन्दै पुस्तक निकाल्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिइन ।

समाजका अध्यक्ष ‘रोदन’ले ह्रदयको आवाजले प्रष्फुटित भएर आएका कथाहरुले आफुलाई मन छोएको बताए।
उनले भने, ‘ स्रष्टाको व्यवहार र उसको सिर्जनामा तादम्यता हुनुपर्छ ।’ वर्तमान समयमा साहित्यको समीक्षाको क्षेत्रमा आएको विकृत पक्षमाथि संकेत गर्दै उनले भने, ‘समीक्षकले अरुको सिर्जनाको हत्या गर्न पाइँदैन् ।स्वाभिमानमा चोट पुर्याउँन पाइँदैन् । कृति जन्मेको दिनलाई उत्सवमय बनाउँनुपर्छ । ‘ उनले कथाकार लेखनीमा इमान्दार भएको,उनमा कृतिमता नपाएको पनि बताए ।

कार्यक्रममा कृति प्रकाशन सँस्था भुँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरे ।
समाजका अध्यक्ष रोदनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन माधव विडारी र स्वागत तारा सुवेदीले गरिन् ।




