
काठमाडौँ। संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
सभामुख डीपी अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।
महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैबीच, राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नेछन् ।

