
विराटनगर । साहित्यकार तथा पत्रकार राजेश खनालद्वारा लिखित संस्मरणात्मक कृति ‘घुरको धुवाँ’माथि विराटनगरमा साहित्यिक विमर्श सम्पन्न भएको छ ।
नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा हालै प्रकाशित उक्त कृतिको विषयवस्तु, शैली र त्यसले उजागर गरेको तराईको सामाजिक यथार्थबारे विभिन्न साहित्यकार र समालोचकहरूले विस्तृत चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ साहित्यकार तथा समालोचक गोपाल भण्डारी ले ‘घुरको धुवाँ’ तराईको ग्रामीण जीवनलाई अत्यन्त जीवन्त ढंगले प्रस्तुत गर्ने कृति भएको टिप्पणी गरे ।भण्डारीका अनुसार, पुस्तकले गाउँको परिवेश, संस्कार, संघर्ष र मानिसहरूको आत्मीय सम्बन्धलाई संस्मरणात्मक शैलीमा प्रभावकारी रूपमा उजागर गरेको छ ।
त्यसैगरी समालोचक भूषण ढुंगेलले लेखकले आफ्ना अनुभव र स्मृतिलाई कथात्मक प्रवाहमा प्रस्तुत गर्दै तराईको जनजीवनलाई टपक्कै टिपेको बताए । ‘कृतिमा ग्रामीण जीवनका साना–साना घटनाहरूलाई समेटेर त्यसलाई व्यापक सामाजिक सन्दर्भसँग जोड्ने प्रयास गरिएको छ ।’उनले भने ।
यस्तै, साहित्यकार निर्मला कोइरालाले तराईको ग्रामीण समाज, संस्कृति र त्यहाँको जीवनशैली बुझ्न चाहने पाठकका लागि ‘घुरको धुवाँ’ महत्त्वपूर्ण कृति भएको उल्लेख गरिन् । पुस्तकले ग्रामीण परिवेशमा हुर्केका मानिसहरूको संवेदना र संघर्षलाई सशक्त ढंगले अभिव्यक्त गरेको धारणा राखिन् ।
प्राध्यापक कविराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आयोजक समितिका सल्लाहकार विवश पोखरेल, नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारी, महासचिव मीनकुमार नवोदितलगायतले पनि कृतिको महत्वबारे आ–आफ्ना धारणा राखेका थिए ।
वक्ताहरूले संस्मरणात्मक कृतिहरूले समाजको ऐतिहासिक स्मृति र सांस्कृतिक पहिचानलाई सुरक्षित राख्ने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै ‘घुरको धुवाँ’ त्यस्तै प्रकृतिको कृति भएको बताए । वक्ताहरूले पुस्तकले तराईको ग्रामीण समाजका सुख–दुःख, परम्परा, श्रम संस्कृति र मानिसहरूको जीवनसंघर्षलाई पाठकमाझ सजीव रूपमा प्रस्तुत गरेको धारणा राखेका थिए ।
कार्यक्रममा लेखक खनालले पुस्तक लेख्नुको पृष्ठभूमि र प्रेरणाबारे प्रकाश पार्दै आफ्ना बाल्यकालीन स्मृति, गाउँघरको परिवेश र त्यहाँका मानिसहरूको जीवनबाट प्राप्त अनुभवलाई संस्मरणका रूपमा उतारेको बताए ।खनालका अनुसार ‘घुरको धुवाँ’ केवल व्यक्तिगत स्मृतिको संग्रह मात्र नभई तराईको सामाजिक परिवेश र संस्कृतिको झल्को दिने प्रयास पनि हो ।
कार्यक्रममा साहित्यकार, पत्रकार, अध्येता तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।




