
जनकपूर ।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन लक्षित काँग्रेसको घोषणापत्र सार्वजनिक गरेका छन् ।
जनकपूरमा आयोजित विशाल सभामा उनले देशको राजनीतिक र विकासको शैली बदल्ने प्रतिज्ञा व्यक्त गरेका छन् ।
थापाले मधेसी पहिचान र सम्मानको मुद्दा उठाए । ूम यहाँ मधेसको नेता हुन होइन, बेटा हुन आएको हुँ,’थापाले भने, ‘मेरो नसामा मधेसी आमाको रगत नहोला, तर मेरो छातीमा दुर्गानन्द झाको शाहस र आँखामा महेन्द्रनारायण निधिको सपना छ ।’
उनले अब सिंहदरबार छिर्दा मधेसीले आफ्नो धोती–कुर्ता लुकाउनु नपर्ने र गर्वका साथ ‘हम मधेसी छी’ भन्न सक्ने वातावरण कांग्रेसले निर्माण गर्ने बताए ।
‘यो शक्तिको विजय मात्र होइन, यो प्रतिज्ञाको विजय हो,’थापाले भने, ‘आज म जे बोल्दै छु, यो प्रतिज्ञा हो । सरकारमा हुँदा होस् वा सडकमा, कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्नेछैन । हामीले २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर अध्ययन गरी यो प्रतिज्ञा तयार पारेका छौँ ।’
थापाले मधेसको खस्कँदो शैक्षिकस्तरप्रति चिन्ता व्यक्त गर्दै गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना अघि सारे । स्वास्थ्य क्षेत्रमा ‘एक रुपैयाँ तिर्नु नपर्ने’ स्वास्थ्य बीमा प्रणालीको ग्यारेन्टी गरे । कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिनको अन्त्य गर्ने थापाको भनाइ छ ।
मधेसका उखु र आलु किसानको समस्यालाई नजिकबाट नियालेको बताउँदै थापाले यस दशकलाई ‘किसानको दशक’ बनाउने घोषणा गरे ।
वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि सरकारले दूतावासमार्फत विशेष हेरचाह गर्ने र उनीहरू फर्कंदा कुनै न कुनै व्यवसायको मालिक बन्ने वातावरण निर्माण गर्ने योजना उनले सुनाए ।
‘४ खर्बको कृषि उपज आयात गर्ने देशलाई हामी आफ्नै उत्पादनले आत्मनिर्भर बनाउनेछौँ,’ थापाले भने ।
कांग्रेस एक्लैले देश बदल्न नसक्ने स्वीकार गर्दै थापाले ‘टिम नेपाल’को अवधारणा अघि सारे । थापाका अनुसार, यो टिमले अर्को पार्टीलाई होइन, बरु नेपालको कुशासन, गरिबी र बेरोजगारीलाई हराउनेछ ।
उनले मधेस प्रदेशमा पार्टीका ३२ जना उमेदवारहरूलाई घर–घर गएर ‘बदलिएको कांग्रेस’को सन्देश प्रवाह गर्न निर्देशनसमेत दिए ।
‘टिम नेपालमा कांग्रेसले नेतृत्व गर्छ । तर, यसमा एमाले, माओवादी, रास्वपा र जसपा सबै अटाउँछन्,’थापाले भने ।

