
काठमाडौं । चाडपर्व विशेष गरी नेवार समुदायले मनाउँदै आएको अमूर्त साँस्कृतिक सम्पदा हुन् । इतिहास र संस्कृति भन्ने कुरा हाम्रा त्यही सम्पदारुपि रथका दुई पाँग्रा भने जस्तै हुन् । ती पाँग्रा बाङ्गियो भने रथ पनि बाङ्गिन्छ । तसर्थ इतिहासले तथ्य प्रमाण समातेर रथ हाँकिने गरिन्छ भने संस्कृतिले परम्परा समातेर रथ गुड्न मद्दत गर्छ । यी आधार भनेको विज्ञान नै हो । विज्ञानको विरुद्धमा कोही जान सक्दैन ,जान हुँदैन ।
पञ्चाङ्ग निर्णायक समितिले बनाउँदै आएको पञ्चाङ्ग पात्रो हाम्रो अगाडि आउने गर्छ । त्यो समितिमाथि चाडपर्व मनाइ आउने नेवार समुदायलाई एक आपसमा जुधाउने काम गर्दै आइरहेको छ भन्दै आरोप लगाउने गरेको पनि सुनिन्छ । हुनपनि चाडपर्व कहिले मनाउने भन्ने सम्बन्धमा पञ्चाङ्गले जुधाउने तिरै उन्मुख गराएको हो कि भन्ने देखिन्छ । त्यसमाथि काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदाय पनि विज्ञान सम्मत कुरा लिएर होइन आआफनो अहम् बोकेर जुध्दै आएको केही दशक भइसक्यो । उनीहरु आफुले जे बुझे त्यसैलाई आफनो परम्परा ठान्दै आए । यस्तो देखिनु भनेको सुखद पक्ष बिल्कूल होइन ।
यो मामलामा पञ्चाङ्ग निर्णायक समितिले पनि विज्ञानको आधार अगाडि राखी कसैलाई बुझाउन सकेको होइन । आफनो अहम् मात्र बोक्नेहरुले पनि विज्ञानको आधार अगाडि ल्याएर एकले अर्को पक्षलाई बुझाउन सकेको पनि होइन । यो समस्या सुल्झाउन विज्ञान कै आधारले मात्र सकिने हो तर्कवितर्कले होइन । पञ्चाङ्गमा बार सातवटा हुन्छ त्यो सबैलाई थाहा छ । त्यस्तै एक महिनामा दुई पक्ष हुन्छ ती हुन् शुक्ल पक्ष र कृष्ण पक्ष । ती पक्ष भित्र तिथि जतिसुकै घटबढ भइरहेतापनि १५।१५ दिनको पक्षमा कुनै तलमाथि भएको छैन । यथार्थ हुँदाहुँदै यसलाई तर्कवितर्क गरेर जित्न खोज्ने विषय नै होइन । यसमा हेक्का राख्ने गर्नु प¥यो भन्ने नै यो लेखको मूल आसय हो ।
सौरमासको वर्षमा ३६५ दिन हुने त्यही भित्रको चान्द्रमासमा ३५४ दिन हुने तर ती ३५४ दिन सौरमासको वर्ष ३६५ भित्र नै अन्तर घुलन भएर बसेको हुन्छ । ३६५ दिनको एक सौर वर्षमा जतिसुकै वर्ष अघि गएपनि त्यहाँ अधिकमास देखिने हुँदैन । त्यही सौर वर्ष भित्र घुलेर बसेको चान्द्रमासमा भने हरेक तीनतीन वर्ष पछि अधिकमास देखापर्छ । यसमा १२ चान्द्रमास र एक अधिकमास गरेर १३ महिना देख्नेहरु छन् । त्यसरी १३ महिना देख्यो भन्दैमा १३ महिनाको हिसावले त्यहाँ ३९० दिन हुने होइन भन्ने कुरा बुझ्न सकेको छैन । भनाइको मतलव ३० दिनको एक महिनाको हिसावले १२ महिनाको ३६० दिन र थप एक अधिकमास गर्दा ३९० दिन हुन आउने त हो नि भन्ने उपवुज्रुकहरु नै धेरै देखापरे । उनीहरुले त्यस भित्रको विज्ञान भने छेउटुप्पो बुझ्न सकेको होइन ।
३६५ दिन भएको सौर वर्ष भित्र चान्द्रमास घुलेर बसेकोले सौरमासको दुई संक्रान्ति भित्र एक चान्द्रमास पर्न आएको बेला त्यस चान्द्रमासले संक्रान्ति देख्न पाइएन भने त्यसतो चान्द्रमासलाई अधिकमास भनेको हो । त्यसकारण दुई संक्रान्ति भन्ना साथ त्यस भित्रको पेटमा बस्न आएको चान्द्रमास छुट्टै थप चान्द्रमास होइन । त्यसरी पेटमा बस्न आएको चान्द्रमासलाई अधिकमास भनेर नाम दिइयो । यथार्थमा व्यवहारिक गणनामा त्यसतो अधिकमासको छुट्टै एक मास गणना गर्न पाइने होइन । त्यही भएर अधिकमासलाई मलमासको संज्ञा दिइएको कारण यही हो । जस्तो ज्योतिषीय गणनामा बार्हस्पत्यमान, नाक्षत्रमानको पनि गणना हुन्छ तर त्यसको व्यवहारिक धरातलमा आउँदैन त्यस्तै चान्द्रमासको गणना पनि ज्योतिषीय गणितागणितमा मात्र आउने कुरो हो । त्यसैले जसले ३५४ दिनको वर्षको कल्पना गर्छ भने त्यो विज्ञान विरुद्धको कुरा हो । भनाइको तात्पर्य नेपालसंवत् स्वयं पनि ३५४ दिनको वर्ष होइन । नेपालसंवत् पनि ३६५ दिनको वर्ष हो त्यसमा पनि ३५४ दिनको चान्द्र वर्ष घुलेर बसेको मात्र हो । त्यही ३५४ ले खेली रहने हुनाले अधिकमास देखा पर्ने गरेको हो । जसले यो विज्ञानलाई आत्मसात् गर्दैन । उनीहरुको बीचमा हुने गफमा मात्र तिथि देख्नासाथ नेपालसंवत् र नेपालसंवत् भन्नासाथ ३५४ दिनको वर्ष भनेर आफनो बुझाइ बनाउँदै आएको हो । खुद नेपालसंवत्का अभियन्ता भन्दै आउनेहरु पनि ३५४ दिनको क्यालेण्डर बनाएर भूललाई निरन्तरता दिंदै आएको छ । यो दृष्टिकोणबाट हेर्दा पञ्चाङ्ग निर्णायक समितिलाई उनीहरुले आरोप दिनु बेकारको कुरा हो । किनभने आफै भ्रामक जञ्जालमा अल्झेर अरुलाई दोष देखाउन उचित होइन ।
जस्तो अधिकमासको सिद्धान्तमा सौरसंक्रान्ति नदेखेको महिनालाई अधिकमास भने झैं कहिले एउटै तिथि दुइ दिन हुने कहिले तिथि टुट हुने हुन्छ । यसको पनि सिद्धान्त अधिकमास जस्तै हो । माथि पनि भनिसकेको छ कि एक पक्षमा दिन बढ्यो भनेर १६ दिन पनि हुँदैन र तिथि टूट भयो भन्दैमा १४ दिन पनि हुँदैन । यहाँ विज्ञान नबुझ्नेहरुले जेसुकै भनेतापनि पञ्चाङ्ग पात्रो मात्र नियालेर हेर्ना साथ छर्लङ्ग देखिने कुरा हो । तिथि बढ्ने र तिथि टुट हुने भनेको कस्तो कसरी भन्ने कुरा पात्रो हेर्नेहरुले पनि बुझ्न सकेको जस्तो लाग्दैन । कुनै दिन तिथिले सूर्योदय सम्म देख्न पाए तर सूर्योदय भएको केही समयसम्ममात्र तिथि रहने भइ दियो भने त्यस्तो बेला तिथि दुईदिन देखापर्छ । त्यस्तैगरि कुनै बेला दुइटा सूर्योदय बीच एउटा तिथि पर्न आयो र त्यो तिथिले सूर्योदय देख्न पाइएन भने त्यसरी सूर्योदय नदेखेको तिथि लोप हुन्छ मतलव तिथि टूट भयो भन्ने हुन्छ । अघि भने झैं दुइटा संक्रान्तिको बीचमा एक चान्द्रमास पर्दा संक्रान्तिले नछोएको महिना मलमास भएर त्यसको काम छैन भने जस्तै दुइटा सूर्याेदय बीच एउटा तिथि पर्न आयो भने त्यो तिथिको महत्व नभएर लोप हुन्छ भन्नु मतलव तिथि टूट भयो । त्यसकारण सूर्योदय नभएको तिथि वास्तवमा तिथि कहलिंदैन ।
यसबाट यो बुझियो कि पञ्चाङ्ग पात्रोमा सूर्योदय देखेको तिथिका दिनमात्र बस्दछ सूर्योदय नदेखेको तिथिको दिन बस्दैन । यसको मतलव पात्रोले नै सूर्योदय देखेको तिथिमात्र वास्तविक तिथि हो भनेर दिइएको छ । त्यही भएर हाम्रा पूर्खा भनौं वा पूर्वाचार्यहरुले चाडपर्व जति सबै सूर्योदयले जेतिथि बोकेर उदय भयो अर्को सूर्योदय नभएसम्म कायम रहेको सिद्धान्त अपनाए चाडपर्व बाहेक अरु कम्र्मकाण्डहरुमा साइत नै हेर्नु परेको अवस्थामा लाग्दो तिथिबाट गर्नमा कुनै आपत्ति जनाएको थिएन । यो कुरा हेक्का राख्न जरुरी छ । त्यही भएर दशैं र तिहारमा कोही अलमलिनु नपरोस् भनी पुराणमा दिइएको वाक्य यस प्रकार छ ः
यांं तिथि समनुप्राप्य उदयं याति भास्करः ।
सा तिथिः सकला ज्ञेया स्नान दानादि कर्मसु ।।
यसको अर्थ,
जुन तिथि लिएर सूर्य उदय हुन्छ त्यही तिथि एक दिनको हुन्छ त्यही दिन वा तिथिमा स्नान दानादि कर्म गर्न हुन्छ । उदाहरणको लागि भन्नु पर्दा बिहान सूर्योदय हुँदा जुन तिथि थियो त्यसको ५।१० मिनेट मै तिथि परिवर्तन भयो भने पनि चाडपर्वमा सूर्योदय हुँदाको तिथि नै लिइन्छ अघिल्लो दिन त्यो तिथिले सूर्योदय नदेखेको हुनाले अघिल्लो दिनलाई तिथि मानिंदैन । पात्रोमा घडीपला दिइयो भन्दैमा चाडपर्व मनाउने प्रयोजनको लागि दिइएको होइन, साइत लिएर अनुष्ठानको कार्य गर्ने प्रयोजनको लागि भनेर समय पनि जनाइएको हो । यो कारण नबुझेर यति बजेसम्म यो तिथि छ भनी चाहिनेभन्दा बढता उपबुज्रुक्याईं गर्दै आएको मात्र हो ।
दशैंमा सूर्योदयले अष्टमी देखेको पूरै दिन महाअष्टमी,त्यसको भोलिपल्ट महानवमी र पर्सिपल्ट विजयादशमी हुन्छ । यदि यहाँ कुनै दिन टूट छ भने पनि नवमीको दिनलाई निश्चित गरी अघिल्लो दिन अष्टमी र पछिल्लो दिन विजयादशमी मनाउने परम्परा चल्दै आएको हो । यो प्रावधानले गर्दा अष्टमी र नवमी एकै दिन पर्यो भनेर पनि अलमलिनु परेन र नवमी दशमी एकै दिन पर्यो भनेर पनि अन्यौल हुनु परेन ।
त्यस्तै तिहारमा पनि कार्तिक शुक्ल प्रतिपदाको दिन निश्चय गरीकन अघिल्लोदिन लक्ष्मीपूजा र पछिल्लो दिन भाइपूजा गरेर लहरै तीन दिन मनाउन सहज बनाएको छ । यसरी दशैं र तिहारमा एक दिन सुलँ(ग्याप) बस्नु आवश्यकता छैन । त्यसकारण चाडपर्वमा घडीपला देखाएर अन्यौल पार्न खोज्नु भनेको सरासर भ्रममा पार्न खोजेको ठहर्छ ।
केही दशक यता आएर चाडपर्वमा घडीपलाको कुरा ल्याएर नेवारहरुले मनाउने चाडपर्वमा अन्यौलता तर्फ धकेल्न खोजेको हामीले देख्दै आएकै हो । चाडपर्वको हकमा निश्चिन्त भइ सूर्योदय भएको बेलाको तिथि अर्को सूर्योदयसम्म रहने गरि मनाउने नै हो । यहाँ चाडपर्व बाहेक अरु हकमा जुनसुकै शुभ या अशुभ कर्ममा लाग्दो तिथि अपनाउन पाइन्छ तसर्थ उहाँहरुले जे भन्दै आएको हो त्यही सिद्धान्त अनुशरण गर्न कसैल,े कुनै शास्त्रले रोकटोक गरेको छैन । भनाईको तात्पर्य यही कि नेवार समुदाय हरेकले चाडपर्वको हकमा सबै एकमत भइ हाम्रा पूर्खा पूर्वजहरुको पालामा झैं सबै नेवार एउटै धारमा आई , सूर्योदयले बोकेको तिथि अर्को सूर्योदय नहुन्जेलसम्म रहने जुन सिद्धान्त र परम्परा हो हामी त्यसलाई कदापि बिर्सन मिल्दैन , बरु यसलाई अगाडि बढाउँदै लानु पर्ने जरुरी छ ।
यस्तै होस् भनी अपेक्षा गर्दागर्दै पनि यसपाली २०८३ सालको लागि प्रकाशित भएको पञ्चाङ्ग पात्रोमा कुनै परिवर्तन भएन । भन्नुको अर्थ नरक चतुर्दशीको दिन पनि लक्ष्मीपूजा र भोलीपल्ट औशीको दिन पनि लक्ष्मीपूजा गरेर नेवारहरुलाई लोप्पा ख्वाइदिएको देखियो । यो साँच्चै दुःखद कुरा नै हो । यो तरिकाले नेवार समुदायमा जुन प्रकारको विभाजित मनस्थितिको विकास भइरहेको हो त्यसैलाई नै बढावा दिएको भयो । त्यो बाहेक अरु होइन भन्नु पर्ने अवस्था आइप¥यो ।
एकथरि नेवार समुदायलाई यो दृढ निश्चय भइसकेको छकि त्यस्ता हज्जार पञ्चाङ्गको बेग र तूफान लादेपनि आफू डगमगिने वाला छैन उनीहरुमा स्पष्ट छ कि तिथि भनेको सूर्योदयले नै तय गर्दछ चन्द्रोदयले होइन । त्यही भएर चाडवाड मनाउँदा सूर्योदय हुँदा जे तिथि लिएर उदय भएको हो अर्को सूर्योदय नभएसम्म रहने सिद्धान्तलाई नै पकडेर आइरहेको हो र आगामी वर्षहरुमा पनि त्यही सिद्धान्त कायम राख्दै जानेछ , यसमा कसैले कुनै शंका गर्नै पर्दैन ।
बरु अर्को थरि समुदाय भनेको लाग्दो तिथिको कुरा गर्ने समुदाय हो । जुन समुदायलाई सूर्योदयले नदेखेको तिथि टूट भएर पात्रो मै देखिंदैन भन्ने थाहा छैन । त्यो समुदायलाई तिथिबृद्धि कसरी हुन्छ तिथि टूट कसरी हुन्छ यसमा कुन सिद्धान्त लागू भइरहेको छ । ती कुरा कुनै थाहाछैन केवल घडीपला हेर्न जानेको भरमा मुरिसुरि जान्दिन ३० पाथि धान भन्न जानेको मात्रै देखिन आएको छ । उनीहरुलाई चन्द्रमाको छुट्टै अस्तित्व छैन स्वयं चन्द्रमा पनि सूर्यको प्रकाशले उज्यालो भएको हो भन्नेसम्म पनि थाहा छैन । चन्द्रमाको जुन गति हो त्यो गतिलाई सूर्यको गतिले नै नियन्त्रण गरिरहेको छ भन्ने पनि थाहा छैन । चान्द्रवर्षको कुरा गर्दा ३५४ दिनको वर्ष भन्यो भने एक चान्द्रमासमा २९.५ दिन हुन्छ । यसरी २९.५ को महिना भनेर थाहा भइकन पनि ३० दिनको महिना किन भइरहेको छ ? उनीहरुलाई शुक्ल पक्ष १५ दिन र कृष्णपक्ष १५ दिन किन भएको कसको खल्तीबाट ०.५ थप गरेर पात्रो बनाइ आएको छ त्यसको स्पष्ट जवाफ पनि उनीहरु मध्ये कसैलाई थाहा छैन । १५ दिनको पक्षले वर्षमा २४ पक्ष हुन्छ । २४ह१५बराबर ३६० हुन्छ र ३६०–३५४बराबर ६ हुन्छ । ३५४ दिनको वर्ष बनाउनेले ६ दिन कसको खल्तीबाट हालियो ? यो पनि थाहा छैन ।
हरेक तीनतीन वर्षमा अधिकमास आइरहेको थाहा छ । यसमा सौरमासको सहारा बिना अधिकमासको हिसाव कुन सिद्धान्तले बताउन सक्छ ? अधिकमासको कुरा जस्तै चन्द्र ग्रहण र सूर्य ग्रहण अहिले मात्र होइन चन्द्र सूर्य पृथ्वीको उत्पत्ति कालदेखि नै देखा परेको हो । यदि सौरमानको गणना बहिस्कार गरेर चान्द्रमानको मात्र हिसावले आउँछ भन्ने सिद्धान्त कहाँ छ ? यस्ता अनगिन्ती प्रश्नको जवाफ जोसंग छैन उसले लाग्दो तिथिको वकालत गरेर पण्डित बन्न खोज्दै आएको छर्लङ्ग प्रायः भइसकेको छ ।
अर्को थरि नेवार समुदाय भनेको राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको पञ्चाङ्गले जे भन्छ त्यही अनुशरण गर्ने हो । यदि त्यो समितिले औंशी र पूर्णिमा एकै दिन पर्छ भन्यो भने पनि त्यसलाई पत्याउने नै हो , दायाँ बायाँ कतै हेरिंदैन भन्नेहरु भयो । उनीहरुको लागि कुनै शास्त्र प्रमाणहरुको कुरा गरि रहनै परेन ।
लाग्दो तिथिको पक्षमा वकालत गर्नेहरुको केही तर्कहरु
१. सुखरात्री(लक्ष्मीपूजा) मोहरात्री(कृष्णअष्टमी) कालरात्री(महाअष्टमी) र शिवरात्री यी दिनमा रातिको तिथिको घडी पला हेरेरै पूजा गरिन्छ त्यही भएर एक सूर्योदयदेखि अर्को सूर्योदयको सिद्धान्त हामी ज्यान गइ मान्दिन भन्दै आएको देखियो ।
२. गणेश चतुर्थी चथा पनि राति नै चन्द्रमालाई हेरी पूजा गर्नु पर्ने भएकोले सूर्योदयको सिद्धान्तलाई मान्दै मान्दिन भन्दै आएको देखियो ।
३. लक्ष्मीपूजा भनेकै सुखरात्री हो र त्यही रात औंशी पनि हो त्यही भएर राति औंशी भएकै दिनमा लक्ष्मीपूजा गर्ने हो सूर्योदयको सिद्धान्त हामी किमार्थ मान्दिन भन्दै आएको देखिएको हो ।
मोहरात्री भनेको कृष्णाष्टमी हो भने बिहानैदेखि हरेक कृष्णमन्दिरमा पूजागर्न जानेहरुको भीड किन देखापरेको ? त्यतिबेला घडीपला किन हेरिएन ? शिवरात्री पनि राति मात्र मनाउने हो भने त्यो दिन सार्वजनिक बिदा दिइयो किन ?त्यो दिन पनि बिहानैदेखि शिवमन्दिरहरुमा भक्तजनहरुको घुईंचो लागेको कारण के हो ? घडीपला हेरेको भए घुईचो हुँदैनथ्यो होला । त्यस्तै कालरात्रीको दिन बिहानैदेखि भोज किन खाएको ? रातिको कालरात्री पूजा गरिसकेपछि मात्र भोज खाएको हुनु पर्ने किन भएन ? त्यसैले सुखरात्री मै पनि नेवार समुदायले बिहानैदेखि लिपपोत गरेर बत्ती राखेर पूजा गरि बेलुका लक्ष्मीपूजा गर्ने तयारी किन गर्छन ? फेरि बिहानै निराहार मै गाई पनि लक्ष्मी कै प्रतीक भनेर पूजागर्ने गरेको किन? त्यो पनि सुखरात्रीको समय मै गरेको हुनुपर्ने किन बिहानै गरियो ? बिहानै त घडीपलाले लक्ष्मीपूजा लाग्यो भनेको नहुनु पर्ने हो । त्यस्तै चथा( गणेश चतुर्थीको दिन ) बिहानदेखि घरमा लिपपोत गरी गणेश मन्दिरहरुमा भक्तजनहरुको भीड नै लाग्छ त्यो पनि राति पूजा गरिने भएको भनी राति मात्र भीड लाग्नु पर्ने बिहानैदेखि किन भयो होला ?यी सब यथार्थ देखादेख पनि घडीपला अनुसार औंशी नै नभएको बेला कसरी लक्ष्मीपूजा गरौं भनी तर्क गर्नु बूझ पचाएको भन्ने कि मनासिव कुरा गरेको भन्ने ? अचम्म यो पो छ ।
जति पनि लाग्दो तिथिको पक्षमा वकालत गर्दै आएकाहरुले बिहानको घडीपलाले त तिथिले छोएकै हुँदैन भन्नु पर्ने किन भनिएन ? त्यसकारण ती सब दुनियाँलाई दिग्भ्रमित पार्ने कुरा मात्रै हुन् भन्दा अनर्थ नहोला भन्न सकिन्छ । त्यसकारण चाडपर्वमा लाग्दो तिथिको कुनै अर्थ लाग्दैन र ती चाडपर्वहरुमा सूर्योदयले बोकेको जुन तिथि हो अर्को सूर्योदय नभएसम्म त्यही तिथि लागू हुन्छ भन्ने कुरा निर्विवाद सिद्ध छ । हाम्रा पूर्वजहरुले यो सिद्धान्त किन लिइयो भन्ने सम्वन्धमा कुनै बेला सूर्योदय भएको केही मिनेट पछि नै तिथि परिवर्तन भएको हुनसक्छ त्यतिबेला त्यो दिन गर्नुपर्ने काम गर्नै भ्याउँदैन के गर्ने ? भन्ने सवाल उठ्ला भनी चाडपर्वको हकमा सूर्योदयले तिथि छुने मात्रै पनि अर्को सूर्योदय नहुँञ्जेलसम्म त्यही तिथि मानेर बेलुकासम्ममा काम सम्पन्न गर्नू भनेको हो ।
इतिहास र परम्परालाई यसो नियालेर हेरियो भने नेवारहरुले गरिने हरेक पूजामा चन्द्रसूर्य पृथ्वी साक्षी राखेर मात्र पूजा गर्छन् । चाडपर्वमा लाग्दो तिथि लिइयो भने त्यहाँ सूर्य र पृथ्वी उपस्थित भएको हुँदैन । वास्तवमा केवल चन्द्रोदय हेरेर चन्द्रमात्र उपस्थित गराएको पूजा पूर्ण पूजा होइन । चतुर्दशीको राति चन्द्र उपस्थित मात्र गराई सूर्य पृथ्वीको अनुपस्थितिमा गरिने लक्ष्मीपूजा र सुखरात्री पूजा पूर्ण किमार्थ होइन । फेरि लक्ष्मीपूजा र सुखरात्रीको अवधारणा नै फरक फरक कुरा हुन् । वि.सं २००१ सालदेखिको पञ्चाङ्ग पात्रो केलाएर हेरियो भने २०३१ ।३२ सालको पात्रो देखि आएर मात्र सुखरात्रीको उल्लेख देखापरेको पाइन्छ । त्यो भन्दा अघिको पात्रोहरुमा लक्ष्मीपूजा औंशीको दिनलाई मानेको छ त्यहाँ चतुर्दशीको दिन लक्ष्मीपूजा गराएको पनि छैन र सुखरात्री पनि भनेको छैन । त्यसरी पछि कालान्तरमा आएर देखापरेको मान्यतालाई परम्परा मानेर चतुर्दशी याने कुकुर तिहारको दिनमा राति औशी देखाएर सुखरात्रीको अवधारणा अघिसार्नु भनेको त्यहाँ कुनै ऐतिहासिक तथ्य छैन भन्ने सिद्ध हुन्छ ।
नेपालसंवत् ८०८ को भक्तपुर दरबार भित्र नागपोखरी संगै उत्तरपट्टि रहेको राजा जितामित्र मल्लको ठूलो शिलालेख छ , त्यसमा लक्ष्मीपूजा र सुखरात्री एकै दिन भनिएको छैन । यो अभिलेख धेरै ठाउँमा छापिएको हुनाले पल्टाएर हेर्न चाहनेहरुले तुरुन्त खोजेर हेर्न सकिने कुरो हो ।
अहिले सारा ज्योतिष इतिहासकारहरुले लक्ष्मीपूजालाई सुखरात्री मानेर रातको समय लिन , औंशी नभएको तिथिमा सुखरात्री कसरी मान्ने भन्दै नरक चतुर्दशी कुकुर तिहारको दिन लक्ष्मीपूजा र सुखरात्री एकै दिन पार्दै आएको छ । माथि उल्लेख गरेको अभिलेखमा लक्ष्मीपूजा र सुखरात्री अलगअलग दिनमा मनाएको दृष्टान्त प्रमाण दिइएको छ । जस्तैः
लक्ष्मीपूजाको दिनमा तलेजुमा पंचामृत पूजागर्न “स्वानमाल दक्षिणा उथें ।। प्ल २ वा ।। प्ल २ के ।। थ्वते छाय ।। (धान चामल चढाउने)” चाहिन्छ भनेर दिइएको छ ।
सुखरात्रीको दिनमा पंचामृत पूजागर्न “स्वानमाल दक्षिणा उथें ।। पात २ धरि ।। ग्वड २ तवसे छाय ।। ।। (कतारो दही)” चाहिन्छ भनेर दिइएको छ ।
यसरी ऐतिहासिक स्रोतमा सुखरात्री र लक्ष्मीपूजा एकै दिन होइन भन्ने कुरा प्रष्ट बोलेको पाइन्छ । अहिले पञ्चाङ्ग पात्रो बनाउँदा राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले चतुर्दशी कै रातलाई सुखरात्री र लक्ष्मीपूजा भनेर लेखी दिंदा इतिहास संस्कृतिको ठाडै बिरुद्ध हुन गएको छ । यो त औंशी र पूर्णिमा एकै दिन प¥यो भन्नु र लक्ष्मीपूजा सुखरात्री एकै दिन प¥यो भनी त्यसलाई पछ्याउनेहरु एउटै ड्याङ्गको मूला जस्तै भएको हो । त्यसरी इतिहास र संस्कृतिको मर्म बिपरीत भइरहेको देखिनु नेवार समुदायको लागि इज्जतको कुरा बिल्कूल होइन ।
निष्कर्ष
वर्तमान परिप्रेक्ष्यमा आएर नेवार समुदायले मनाउने गरेको चाडपर्वको विषयमा धेरै अन्यौलताले जरो गाड्दै गरेको सुनेको कुरो हो । त्यो अन्यौलताबाट कसरी मुक्त हुन सकिन्छ, त्यसको उपाय भने कसैको दिमागमा सुझ्न सकेको देखिएको छैन । हाम्रो इतिहास र साँस्कृतिक परम्पराले चाडपर्व मनाउँदा एक सूर्योदयदेखि अर्को सूर्योदय नभएसम्म त्यही तिथि रहन्छ भन्ने सिद्धान्तलाई मान्ने कुरा स्वयं पञ्चाङ्गको सिद्धान्तले पनि प्रत्यक्ष समर्थन गरिरहेको छ । किनभने पञ्चाङ्गमा सूर्योदयले नछोएको तिथिलाई तिथि नै मानेको छैन । यस्तो मूलभूत कुरा बिर्सेर सोझै कुकुर तिहारको दिन लक्ष्मीपूजा देखाएर पहिले कुकुर पूजा गरी त्यसपछि गाइ पूजा गरी अनौठो संस्कृतिको उत्पादन गर्नु भनेको पञ्चाङ्ग निर्णायक समितिले आफ्नै खुट्टामा आफैले बञ्चरो हान्ने जस्ता दूषित कृयाकलाप गर्दै आएको देखिएको छ । यो अति अशोभनीय कृयाकलाप हो । यो त कसैले नेपाली संस्कृतिलाई भड्खालोमा हाल्न चाहनेहरुको उक्साईमा भइरहेको त होइन ? भन्ने शंका गर्नु पर्ने पो भयो ।
मुख्यतः चाडपर्व नेवार समुदाय कै हो । उनीहरुले हरेक चाडपर्वमा चन्द्र सूर्य र पृथ्वीलाई साक्षी राखे बिना कुनै कृयाकलाप नै गर्दैन भन्ने थाहा हुनु पर्ने हो । त्यसैले केवल चन्द्रलाई मात्र उपस्थित गराएर गरिने पूजा शुद्ध पूजा होइन । त्यो कसको निर्देशन भइरहेको हो त्यो बुझ्न र खोजी गर्न जरुरी छ ।भनाइको तात्पर्य सूर्योदयले औंशी नदेखेको दिनमा गरिएको विधि तान्त्रिक विधि सम्मत लक्ष्मीपूजा नै होइन त्यो त केवल फर्माइसी लक्ष्मी पूजा मात्र ठहरिने हुन्छ ।
तसर्थ त्यता तिर मात्र किन आकर्षित गराउदै आइरहेको छ बुझ्न सकिएको छैन । त्यसैले नेवार समुदायले आफनो विवेकको ढक्कन खोलेर विचार गर्नु पर्ने अवस्था आइसक्यो ताकि हाम्रो आफ्नै इतिहास र संस्कृतिले देखाएको बाटो पहिल्याउने कि पञ्चाङ्ग निर्णायक समिति र उपबुज्रुकहरुले जता दौडायो उतैतिर दौडेर मात्र बस्ने हो ? सबैले आ आफनो मन वचन र कर्मलाई साक्षी राखेर चिन्तन मनन गरुन् । अवश्य समाधान निस्कने छ ।

