
सन्दर्भ प्रणय दिवस:
प्रेमको चर्चा
प्रदीप सापकोटा
प्रेम जीवनको भावनात्मक कुरा हो ।त्यसैले प्रेमलाई भावनात्मक रुपमा अनुभूति गरिन्छ । यो सादृश्य छैन्,अदृश्य छ । प्रेम अनेकानेक आयामभित्र बाँचेको हुन्छ । प्रेमको भवसागर अपार छ । यहिंभित्र अडेको छ दुनियाँ । परिभाषाभित्र प्रेम बाँधिएला जस्तो पनि लागेन मलाई जसको निम्ति जे आवश्यकता छ,त्यो प्राप्त हुनु उसको निम्ति प्रेम हो ।जीवन जीउने महत्वपूर्ण आधार हो प्रेम ।देखासिकीमा टिक्दैन् प्रेम,भ्रममा बाँच्दैन प्रेम ।असल प्रेमीहरु भन्छन् प्रेम दुईआत्माको पवित्र मिलन हो । अभावमा बाँचेकाहरु भन्छन् प्रेम अभावको परिपूर्ति हो । दुखमा बाँचेकाहरुको निम्ति सहानुभूति प्रेम हो,खुशी प्राप्त हुनु नै प्रेम प्राप्त हुनु हो । आमाबुबाको निम्ति प्रेम सन्तानसुख हुनसक्छ । यस्तै हो प्रेम जहाँतहाँ छ । अनेक महिमामा छ ।तर प्रणय दिवसमा चाँही प्रेमिल जोडीबिचको अगाध प्रेमको चर्चा बढी गरिँदोरहेछ ।
जीवनका हरेक मोडहरु बिना प्रेम चल्न सक्दैनन् । प्रेम सुन्दा जति सुन्दर र प्यारो लाग्छ शब्द उस्तै पवित्र पनि छ । जहाँ क्षणिक आवेग,उत्तेजना र वासनारहितको प्रेम हुन्छ,बास्तवमै त्यहाँ प्रेमको परिभाषा अपरिमित हुन्छ । जति नै शब्दमा बखान गर्दापनि अधुरो हुन्छ । अपुरो हुन्छ ।प्रेम सास्वत र जीवनको लागि अनिवार्य छ भन्ने मलाई लाग्छ । तर क्षणिक आनन्द र क्षणभंकुर स्वार्थको लागि गरिने मायाको कुनै अर्थ रहन्न । टिक्दैन् त्यो । प्रेमका रुप विभिन्न हुनसक्छन् । तर पनि प्रेमको मुलतत्व एउटै हो भन्ने हामीमा बोध होस र हुनपनि पर्छ ।
हामी नेपालीहरु आफ्ना संस्कार र संस्कृतिभन्दा पनि विदेशी संस्कार र संस्कृतिप्रति आकर्षित छौं । यसै क्रममा यो भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस पनि एउटा हो । पश्चिमा मूलुकहरुमा भव्य रुपमा मनाइँदै आएको प्रणय दिवसले केही वर्षयता नेपालमा पनि ठूलै आकार लिइसकेको छ ।
कसरी सुरु भयो यो दिवस ?
यो दिवस प्रेममा परेका एक महान प्रेमी एकजना भ्यालेन्टाइन नाम गरेका प्रेमीको वलिदानीको सम्मानमा मनाउन थालिएको मान्छि । ती पादरी (सेन्ट) ले रोमन साम्राज्यका सम्राट्को आदेशविपरीत प्रेमी जोडीको विवाह गराइदिएका कारण ती पादरीलाई मृत्युदण्ड दिइएको थियो।
यो दुखद कहानी बोकेको दिवस हो । अहिले संसारका सबै समुदायको साझा दिवस रहेको भ्यालेन्टाइन डे शुरुमा रोमन क्याथोलिकहरुको पर्वका रुपमा थियो । रोमका राजा क्लाउडियस युद्धमा जानु पर्ने सेनाहरुले विवाह गर्नु हुन्न भन्ने मान्यता राख्दथे । विवाह र यौन सम्बन्धले पुरुषलाई कमजोर बनाउने र यसले युद्धमा प्रतिकुल प्रभाव पर्ने सम्राट क्लाउडियसको धारणा थियो । उनले रोमन साम्राज्यको सेनामा काम गर्ने सैनिकहरुलाई प्रेम र विवाह गर्न प्रतिवन्ध लगाए । सैनिकहरुकालाई महिलासँगको सम्बन्ध बर्जित गरियो । कसैले महिलासँग शारीरिक सम्बन्ध राखेको वा विवाह गरेको पाइए मृत्युदणड दिने व्यवस्था राजाले गरे । राजाको यो निर्णयबाट हजारौं लाखौं युवा सैनिकहरु विवाह गर्नबाट बञ्चित भए ।
क्लाउडियसको यो कदमप्रति सैनिकहरु सन्तुष्ट थिएनन् । तर मृत्युदण्डको डरले यसको कसैले प्रकट रुपमा विरोध गर्न सकेन । एकजना धर्म गुरु सेन्ट भ्यालेन्टाइनले राजाको यस्तो कार्यको विरोध गरे । युवाहरुलाई प्रेम र विवाहमा प्रतिवन्ध लगाउनु ठूलो अपराध भएको उनको धारणा थियो । विवाह र प्रेममा प्रतिवन्ध लगाए संसार कुरुप हुने र मानव सभ्यता नै टुट्ने भ्यालेन्टाइनको विचार थियो । राजाको कदमको विरोध गर्दै सन्त भयेन्टाइनले युवाहरुलाई प्रेम र विवाह गर्न प्रोत्साहित गरे ।
धर्म गुरुको प्रोत्साहनले राजाको आदेश उन्लङ्घन गर्न सैनिकहरु तयार भए । भ्यालेन्टाइनको नेतृत्वमा ३०० सैनिक र तिनका प्रेमिकाहरुले राजाज्ञाको अस्वीकार गर्दै सामुहिक विवाह गरे । राजाज्ञाको अवज्ञा गरेको अपराधमा सेन्ट भ्यालेन्टाइनसहित विवाह गर्ने सबै सैनिकलाई १४ फ्रेबुअरी सन् २६९ का दिन फाँसीमा झुण्ड्याइयो । प्रेममाथिको प्रतिवन्ध विरुद्ध विद्रोह गर्ने उनै सेन्ट भ्यालेन्टाइनको स्मृति दिवस नै कालान्तरमा प्रणय दिवसका रूपमा प्रख्यात हुन पुग्यो ।
प्रेमका लागि बलिदान दिएको यी सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ।
अव्यक्त प्रेमलाई व्यक्त गर्ने समय,मन पराउँनेले आफ्नो प्रेमप्रस्ताव राख्ने दिनको रुपमा पनि यो दिनलाई लिइन्छ ।
बास्तबमा प्रेम केवल आकर्षण होइन,यो त समर्पण पनि हो । प्रेम प्राप्ति मात्र होइन,गुमाउनु पनि प्रेम हो । यो दिवसले यो सन्देश पनि दिनसक्छ । आजकल सप्ताहव्यापी मनाइँदो रहेछ भ्यालेन्टाइन्स डे ।
यो बेला आफुले मन पराउने मान्छेलाई उपहार दिने र शुभकामना दिने गरिन्छ । यसरी दिंदा प्रेमको प्रतिक रेड रोज दिने प्रचलन छ ।
सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ । यो दिनयुवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ जाने चलन छ।
प्रेम अनुशासनको दायरा भित्र मज्जैले फुल्ने र फैलने कुरा हो । क्षणिक आकर्षण प्रेम हुन सक्दैन् । एकअर्काबीचको आस्था,विश्वास र भरोसाभित्र प्रेम झाँगिन सक्छ । समझदारीमा प्रेम बाँच्छ,असमझदारीमा हैन् । प्रेमबिना संसारको सृष्टि समेत सम्भव छैन् । लैला-मजनु, रोमियो-जुलियट, मुना-मदन, हीर-राँझा, नल-दमयन्ती, सावित्री-सत्यवान आदिका प्राचीन अमर प्रेमकथाहरु सुन्दै र पढ्दै आएका छौं ।
मलाई लाग्छ प्रेमले जीवन लिंदैन् तर जीवन दिन्छ । तपाईं कसैलाई साँचो माया गर्नुहुन्छ भने त्यो आभाष उसलाई गराउनुस । महसुस होस उसलाई कि तपाईं चोखो,निस्वार्थ माया गर्नुहुन्छ भनेर ।
अन्तमा, भजन शिरोमणी भक्तराज आचार्यले गाए जस्तै:
‘कोही नगरोस् प्रेम अमर प्रेमको मूल्य कहाँ छ?
मिल्दो रहेछ व्यथा हजार सुखको किनार कहाँ छ ?’
आडम्बर र तडकभडकसँग हैन् । स्वस्थ्य तवरले प्रणय दिवस मनाऔं । विकृत रुपमा हैन्,प्रेमको सार बुझेर यो दिवस मनाऔं । सम्पूर्ण प्रेमिल जोडीहरुमा ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ को शुभकामना ।




