
काठमाडौं।एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छनोटका क्रममा देखिएका आन्तरिक असन्तुष्टि र स–साना अन्तरविरोधमा अल्झिँदा निर्वाचन परिणाम नै प्रभावित हुन सक्ने भन्दै पार्टी पंक्तिलाई सचेत रहन निर्देशन दिएका छन्।
उनले पार्टीको केन्द्रीय कमिटीको बैठकमा शनिबार यस्तो निर्देशन दिएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समानुपातिकतर्फ तोकिएकै समयमा निर्वाचन आयोगमा उम्मेदवार सूची पेश गरिएको जानकारी दिए।
समावेशी क्लस्टर, भौगोलिक सन्तुलन र तोकिएको ११० सिटको सीमालाई ध्यानमा राखेर सूची तयार गरिएको भए पनि कतिपय विषयमा ध्यान नपुगेको हुन सक्ने उनले स्वीकार गरे।
यसबारे आगामी दिनमा थप व्यवस्थित गृहकार्य गरिने पनि उनले बताए।
‘महत्वहीन स–साना आपसी अन्तरविरोधमा अल्झिएर मतपरिणाम बिग्रिन दिनहुँदैन’ ओलीले भने, ‘पार्टीको जित सुनिश्चित गर्न आन्तरिक एकता र अनुशासन सबैभन्दा निर्णायक हुन्छ ।’बैठकमा ओलीले भने ।




