समीक्षा
परिश्रान्त पृथ्वीमा पर्यावरण
बद्रीप्रसाद ढकाल
देवेन सापकोटा (सन् १९६०) शिङरी, शोणितपुर असममा जन्मिएका साहित्यकार हुन् । लामो समयदेखि
भारतीय नेपाली साहित्यमा सक्रिय सापकोटा कथा, कविता तथा नियात्राको क्षेत्रमा निरनतर रचना
गरिरहेका देखिन्छन् । औपचारिक अध्ययनका क्रममा विभिएस्सी, एमभीएस्सी, विद्यावारिधि र पोस्ट डक्टरेट
गरेका सापकोटा हाल असम कृषि विश्वविद्यालयमा प्राध्यापक रहेका छन् । उनको प्रकाशित पुस्तककाकार
कृतिका रूपमा यता हुँदाको उताको झझल्को (सन् १९९१) नियात्रासङ्ग्रह, मनोराग (सन् २०२०) कथा
सङ्कलन, र परिश्रान्त पृथिवी नामक पर्या कवितासङ्कलन (सन् २०२१) मा प्रकाशित छन् । फुटकर लेख
रचनाको संख्या तीनसय भन्दा बढी रहेका सापकोटाको पछिल्ला रचनाहरू प्रकृति र पर्यावरणसँग
सम्बन्धित रहेका छन् ।
‘परिश्रान्त पृथिवी’ सन् २०२१ पर्या कवितासङ्कलन हो । यो संग्रह पर्यावरण अखर्थात् इकोसिस्टमका
तइभ्वहरूलाई केन्द्रविन्दु बनाएर लेखिएका कविताहरूको संग्रह हो । यसभित्रका संग्रहित ४१ शीर्षकका कविताहरु कृतिमा समावेश छन् ।
पर्यावरणकै शीर्षकलाई मस्ल भाव बनाएर लेखिएका अधिकांश कविताले काव्यिक भावमा पर्यावरणमा
देखापरेका समस्यालाई चित्रण गरेका छन् । पर्यावरणभित्र –विकासनिर्माण, पर्यानारीवाद (इकोफेमिनिज्म),
परिवृत्तीय, प्रकृति सौन्दर्य, ग्राम्यता र नगरीकरण, प्रदूषण, जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु
चोरीसिकारी, प्रकृतिसँग आदिवासीको सामिप्यता, धर्म र पर्यावरण आदि विषय समावेश भएका देखिन्छ ।
उत्तरआधुनिक साहित्यमा प्रचलित ‘इको’ अङ्ग्रेजी शब्द ‘इकोलोजी’ वा ‘इकोसिस्टम’को छोटो रूप हो ।
इको साहित्य इकोलोजी (पर्या–शास्त्र) वा इकोसिस्टम (पर्या–प्रणाली)का बारेमा लेखिएको साहित्य हो ।
इकोलोजीले इकोसिस्टमको अध्ययन गर्दछ अर्थात् पर्या–प्रणालीको अध्ययन पर्या–शास्त्रद्वारा गरिन्छ । वायु,
जल, अग्नि, पृथ्वी, आकाशजस्ता पञ्चमहाभूत साथै मानव, वन्यजन्तु र वनस्पतिबिचको अन्तरक्रिया नै
इकोसिस्टम अर्थात् पर्या–प्रणाली हो । यिन बारेमा साहित्य लेखिन्छ भने त्यो
पूर्वीय साहित्यमा प्रकृति साहित्य र पश्चिममा पर्या साहित्य भनेर परिभाषित गरिएको देखिन्छ ।
पूर्वीय अध्ययन तथा साहित्य परम्पराले मानवसभ्यताको विकासक्रमसँगै प्रकृति, नदीनाला, वनजंगल,
हिमाल, पर्वत तथा पञ्चतइभ्वका र आफू वरिपरिको धर्ति र त्यसको अवस्थामा लेखेको साहित्यलाई प्रकृति
साहित्य, पर्यावरण साहित्य भनिन्थ्यो तर पश्चिमि साहित्यमा उत्तरआधुनिक साहित्यले पर्या समालोचनाको
सुरुवात पछि प्रकृति र पृथ्वीको तइभ्वको बारेमा रचना गरेको साहित्य भनेर परिभाषित गरेको देखिन्छ ।
हाम्रो परम्परागत साहित्य पूर्णरूपमा मानवकेन्द्रित छ, मानव र प्रकृति एकअर्काका परिपूरक हुन । मानव
र प्रकृतिको बारेमा मिसिएका साहित्य भन्दा भिन्न प्रकृतिका बारेमा मात्र लेखिने साहित्य इको लिटरेचर
हो की भन्ने जिज्ञासा राख्दा इको साहित्य पनि केही हदसम्म मानवकेन्द्रित हुनसक्छ भनिएको छ । तर
वन्यजन्तु, वनस्पति, हावापानीजस्ता इकोसिस्टमका तइभ्वलाई पनि केन्द्र बनाएर लेखिनुलाई इको साहित्य
मानिएको देखिन्छ । यस भित्र प्रकृति, प्रकृति भित्रको जल, जंगल र जमिन, नदीनाला, पर्वत, हरियाली,
वायस, पानी, प्रदुषणका विविध कुरा समेटिएको देखिन्छ ।
यस सङ्ग्रहको पहिलो कविता पृथिवीवादमा कवि सापकोटाले वर्तमान अवस्थामा देखिएको वातावरणीय
प्रतिकूलतालाई यसरी प्रस्तुत गर्दै प्रारम्भ गरेका छन् ः
मियोमा अन्योलग्रस्त खडा छ
पर्यावरणीय समाचारहरूका ठेलमठेल झेल्दै
मेरो पृथिवी ।
फोहोरको भारी बोकी हिँडेको धेरै भो उसले
च्यातिन लागेछन् आङका वस्त्रहरू पनि
अझै कति बोक्नु छ उसले यो भारी ?
कति टाढासम्म ?
कति नाङ्गिनु छ होला भविष्यमा ?( पृ.४७)
वर्तमान अवस्थामा मानिसले आपसमा गरेको लुछाचुँडी र पृथ्वीले भोग्नुपरेको प्रदूषणलाई मानवीकरण्म
गर्दै कविले पृथ्वीको दुखको चित्रण यस कवितामा गरेका छन् । विभिन्न कलकारखानाबाट निस्किएका
फोहोरले विकृत बनेको पृथ्वीको संरचनालाई हेर्दै अझैं मान्छेले कति दोहन गर्ला भन्ने भाव प्रस्तुत गरेका
छन् ।
त्यस्तै मानवले आफ्नो आवश्यकता पूरा गर्दा हुने असन्तुलन र त्यसले पारेको प्रभावमा लेख्दा पनि पर्या
साहित्यको निर्माण हुन्छ । विकासनिर्माण र त्यसले पार्ने दुरगामी प्रभावलाई विषय बनाएर कवि सापकोटाले
‘पहाडको पीडा’ शीर्षकको कविता रचना गरेका छन् । ठूलाठूला घर, सडक निर्माणजस्ता विकासकार्यले
सदियौंदेखि ठडिएका हरिया पहाडलाई तहसनहस पारेको छ, यस्ता जथाभावी तरिकाले पूर्वाधार निर्माण
गरिने कार्यलाई तुरुन्त रोकिनु पर्छ भन्ने मुख्य आशय उनका कवितामा अभिव्यक्त भएका पाइन्छन् । हुन
त पहाड एक निर्जीव प्राकृतिक संरचना हो, तर पहाडलाई एक सजीव प्राणीसरह प्रस्तुत गर्दै यसका
संवेदनालाई यसरी पोखिएको छ –
राति एक्कासि जुरुक्क उठ्छ पहाड
ऐँठन भएछ उसलाई
खङ्रङ्ङ झरिगए
यत्रोबेर उसलाई छोपिराखेका सुकेका पातहरू
आलै पारी आङ का घाउ र चोटहरू।
छिया छिया पारेको रहेछ
चिथोरी छाती
पाखण्डी क्रेनका निर्मोही नङ्ग्राले
रक्ताम्मे रातो माटोको भल बगाएर ।….(पृ.५९)
वातावरणीय, असन्तुलन जलवायु परिवर्तन, अतिक्रमण, संरचना निर्माणजस्ता कारणले नदीनाला,
तालतलैया, कुवाहरू तीव्र गतिमा सुक्दै गइरहेका छन् । पानीको स्रोत सुक्दा मानव जीवनमा पनि निकै
ठूलो समस्या परिरहेको छ । क्रंक्रीटका घर र बाटाहरु बन्दा जमिन भिज्न पाएका छैनन् । वर्सातमा
परेको घरको छानाको पानीले सिञ्चन गरेर पुरानो कुवालाई पुनर्भरण गर्न सकिन्छ । अर्थात् सुकिसकेको
कुवालाई यसरी जीवित तुल्याउन आवश्यक पनि छ भन्ने जनचेतना ‘प्रायश्चित्त’ शीर्षक कविताले दिएको
छ ।
….‘रेन् वाटर हारभेस्टीङ ’ भनेको यही हो, बाबा
स्कुलमा पढाएको, आज
के यसै गर्न सक्छौं हामी पनि
घरपछाडि सुकेको कुवालाई पुनर्जीवन दिन
भरेर पेट परेको पानीले ?…( पृ.६५).
‘एक परित्यक्त कुवा’ मानिसको सामाजिक अवस्था र वातावरणीय परिवेशको चिन्तनलाई फ्युजन गरी
व्यक्त गरिएको मानवीय संवेदनात्मक कविता हो । जीवनका लागि अति आवश्यक जल र जमिन छोडी
बुढी आमाले गाउँ छोडेर गएको छोरालाई कसरी सम्झिन्छिन्– यस्ता मनोभावना मूलधारको साहित्य
लेखनमा पाइन्छ । नवीन आधुनिक सुख सुविधाका निमित्त आफू जन्मेको स्थल छोडेर परदेसिँदा आमा
बाबुमा के बित्छ अनि त्यो हुर्काएको जमिनले के कस्तो अनुभूति देला भन्ने भावमा बुढो कुवाले व्यक्त
गर्ने संवेदना कस्तो हुन्छ– त्यसलाई कविताको भावमा एक परित्यक्त कुवा’ कवितामा यसरी व्यक्त गरिएको
छ –
तर नसोच तिमी
म व्यथित छु
गाउँलेहरूले माया मार्दा
दुध चुसाउने आमालाई त
परित्याग गर्छौ तिमीहरूले भने
म जाबो पानी खुवाउनेको कसलाई वास्ता ?
‘खुसी छु म यसरी नै आफ्नै पुरानो गाउँमा
आखिर सुख त अनुभव गर्ने पो कुरो हो ।
विकास खोज्दै सहर लागेका थियौ तिमी
ल्याउन सक्यौ त प्रगतिको उज्यालो यो गाउँमा ?
कत्तिको खुसी उमार्न सकेका छौ तिमीले सहरमा बसी
टाढिएर आफ्नो प्यारो गाउँबाट ?’…(पृ.६७)
आफ्नो गाउँ र सुन्दर जन्मभूमि त्यहाँका खोलानाला, पाखा पखेरालगायत पानीको कुवाले मानिसको
बसाइँ सराई भएर भएको निर्जनपनको अवस्थालाई कवितामा प्रस्तुत गरिएको छ ।
बढ्दै गएको वन विनास, शहरीकरण, आधुनिक सुख सुविधाका लागि गरिएको पृथ्वीमाथिको अतिक्रमणबाट
कविताको भाव निर्माण भएको छ । वन फँडानी गरेर सडक, एयरपोर्ट, खेतीयोग्य जमिन तथा भौतिक
सुविधाका लागि बनाइएको फर्निचर, कागज इत्यादि निर्माण गरिन्छ । रुख काटेर टिस्यू–पेपर उत्पादन
गरिन्छ । काटिएको रुखभित्रको पीडालाई ‘विवशता’ शीर्षकमा कविले यसरी चित्रण गरेका देखिन्छन्–
लत्तो छाडे मानिसले
रुमाल गम्छा र टालो प्रयोग गर्ने परम्परा,
केवल टिस्यू पेपर चलाउँछन्
घरभित्र घरबाहिर सबैतिर
ट्वइलेट पेपर, पेपर नेपकिन….
निर्दयीहरूले
काट्छन् रुखलाई
गिँड्छन्, धुजा पार्छन्
अनि उमाल्छन्
ताता विषालु रसायनमा
जन्माउन यसलाई ।
पीडामा कति छटपटाउँथे होला यसका तन्तुहरू !…(पृ.९५)
रुख काटेर बनाइने टिस्यू पेपर र कागजका बारेमा अनभिज्ञ र अचेतन मानिसका लागि व्यङ्ग्यसँगै
निर्दयीपनको चित्रण यहाँ गरिएको पाइन्छ ।
जसरी प्राणी र जीवजन्तुका बाँच्न पाउने अधिकार तथा धर्मका नाममा हुने पशुबलिका विरुद्धमा पशु
अधिकारकर्मीद्वारा आवाज उठाइँदै आइएका छन्, त्यसरी नै वनजंगल, जडिबुटीको संरक्षण गरिनु पर्छ र
उसको पनि बाँच्ने अधिकार छ भन्ने कुरालाई यस ‘विवशता’ कविताले चित्रण गरेको छ ।
पर्यावरणमा जैविक विविधताको विशेष महइभ्व हुन्छ । एउटा वासस्थानमा जति धेरै प्रजातिका जीव र
वनस्पतिको उपस्थिति रहन्छ त्यहाँको इकोसिस्टम त्यतिकै उत्तम मानिन्छ । जैविक विविधतामा ह्रास
आउँदा वातावरणले स्वस्थ–सन्तुलन गुमाउन पुग्छ । यसै विषयमा सकरात्मक उर्जा दिन रचिएको
‘जन्मदिनको उपहार’ कवितामा जमिनको उर्वरा शक्ति रसायनिक मल प्रयोगका कारण क्षय भइरहेको
चिन्ता व्यक्त गर्दै नातिले बाजेको जन्मदिनमा गँड्यौलाको पोको उपहारस्वरूप दिएको अवस्थालाई प्रस्तुत
गरिएको छ । हामीले हाम्रा भावी सन्ततीलाई अहिलेकै अवस्थाको हराभरा प्रकृति हस्तान्तरण गर्नुपर्छ भन्ने
सन्देश यस कविताले दिन खोजेको देखिन्छ । स्वच्छ, सफा हराभरा प्रकृति रहे न स्वस्थ मानिस र
वातावरण रहन्छ भन्ने सकारात्मक विचार यस कविताले अभिव्यक्त गरेको छ ।
पृथ्वी अथवा प्रकृति नारीको रूप हो । पर्यावरणका तइभ्वहरूलाई नारीवादी साहित्यमा ढालिएर गरिएका
इको राइटिङ अति नै प्रभावकारी रहन्छ । पुरुषभन्दा महिला बढी प्रकृतिको समीप
हुन्छन् । पर्यावरण संरक्षणमा महिला जति बढी सचेत हुन्छन् त्यति नै बढी पर्यावरण संरक्षित रहने
सम्भावना हुन्छ । पर्यावरणमा कस्तो उपस्थिति रहन्छ र त्यसको घट्बढमा अर्को प्रजातिलाई कस्तो
प्रभाव पर्छ भनी लेखिएका सृजना नारी पर्यावरणभित्र पर्दछन् । प्रकृतिको सृष्टिमा विभिन्न किटपतङ्गले
मानवलाई सहयोग पु¥याएका छन् भावसँगै रसायन र विषादीको प्रयोगले मारिएका र मर्न बाध्य भएका
सुन्दर सृष्टिका उपहारका थर्फबाट कविले कठैबरी मौरी, पुतली, माछा महान, फुकुसिमाको पानी आदि
कविताको रचना गरेका छन । मानवीय गतिविधिले मौरीजस्ता परागसेचन गराउने किरालाई तिनका
बासस्थानबाट विस्थापित पारिँदै छ भन्ने मूलभाव छ ‘कठैबरी मौरी’मा गरिएको पाइन्छ । पुतली पनि
जुनकिरीजस्तै अति नै संवेदनशील एक जैविक सूचक प्राणी हो । इकोसिस्टममा सानो असन्तुलन
आउनासाथ यसको संख्यामा ठुलो असर पर्छ । पर्यावरणबाट अचानक पुतली हराउनासाथ इकोसिस्टममा
ठुलै खैलाबैला मच्ँिचदै रहेछ भन्ने सङ्केत गर्छ । यसरी ‘पुतली’ एक नौलो भावमा लेखिएको एक उत्कृष्ट
कविता हो, कविले कठैबरी मौरी, पुतली र जुनकीरीको सुन्दर स्वरूपको चित्रण यसरी प्रस्तुत गरेका छन्
ः
एकमुट्ठी मौरी
झरेर गए राति ।
बिजुली बत्तीमा ठोकिन आएका थिए बिचरा
तर कसलाई परवाह छ र ? ( पृ.७२)
पुतलीहरू घट्दैछन् विश्वभरि नै
त्यसैले घट्दै छ
फुलको परागसेचन।
हान्दै धक्का खाद्य–श्रृङ्खलामा
निम्त्याउन अनिकाल समग्रमा ।’..( पृ.१००)
सानो छँदा
डराउँदिनथिएँ म
अँध्यारो रातमा पनि
घरबाट निस्केर जान कतै
हुन्थे जुनकिरी झ्याउँझ्याउँती
घर आँगन बारी बाटो
पिल्पिल् ज्योति बाली
गर्न मार्गदर्शन । (पृ.१२१)
यसरी जैविक विविधतासँगै सृष्टमा भएका किराहरूले दिने रोमाञ्चकपनलाई समेटेदै कविले तिनको
सुन्दरतालाई जोगाउन संरक्षण गर्नुपर्ने आशय व्यक्त गरेका छन् ।
वर्तमान विश्वमा बढ्दै गएको वातावरण प्रदूषण र त्यसले मान स्वास्थ्यमा पारेको प्रतिकूल अवस्थामा
कवि निकै चिन्तित छन् । हावा, पानी र जमिन कसरी प्रदूषित भइरहेका छन्, तिनका कारक के के हुन्
र कसरी न्यून गर्न सकिन्छ भनेर अहिले विश्वसाहित्यमा वातावरणको चिन्ता र चासोका विषयमा
अनगिन्ती साहित्य रचना हुने गरेका छन् तिनलाई प्रदूषण इको राइटिङको भन्न सकिन्छ । यथार्थता,
अभिघात धुवाँ प्रतियोगिता, जीवश्रेष्ठ मानिस?? यस्तै चिन्ता र चासोका विषयमा लेखिएका कविता हुन् ।
भने ‘यथार्थता’ शीर्षकको कविता जमिन प्रदूषणमा प्लास्टिकले पारेको असरका बारेमा लेखिएको कविता
हो । हामीले प्लास्टिकलाई खोला नदी तथा समुन्द्रमा लगेर विसर्जन गरिरहेका छांै । यो नष्ट हँदु ैन । थेगे्रर
बस्छ भन्दै कविले आउँदा वर्षहरूमा समुद्रमा प्लास्टिकको तह माछाको संख्या भन्दा बढी हुनेछ भनेर
वैज्ञानिकहरूले अनुमान लगाएका कुरालाई व्यक्त गरेका छन् ।
बढ्दो प्लास्टिकको भार आगामी ३० वर्षमा
माछाको भन्दा अधिक हुन्छ रे समुद्रमा
सुन्दा कस्तो लाग्छ तिमीलाई श्र
(थाहा छ साथी, प्रतिवर्ष
१० अर्ब केजी प्लास्टिक पोखिन्छ समुद्रको वक्षमा
मार्दै एक हजार लाख समुद्री प्राणीहरू ?)
यसरी संकटमा पर्दै गएका समुद्री जीव र जल प्रदूषाणको अवस्थाको चित्रण कविता आएको छ ।
‘कसले दियो अधिकार तिमीलाई विनष्ट पार्ने हाम्रो सुन्दर पृथिवी ?’ भनेर प्रकृति सुन्दर रहन पाउने
नैसर्गिक अवस्था भएको यस कवितामा दावीका साथ प्रस्तुत गरिएको छ । मानिसलाई प्रकृति कुरूप पार्ने
कुनै अधिकार छैन भन्ने चेतनाका लागि कविले आवाज उठाएका छन् । मार्च २०२१ मा वायु प्रदूषणका
कारणले काठमाडौंलाई विश्वकै एक नम्बरको प्रदूषित सहरको सूचीमा उभ्यायो । भन्दै प्रदूषणको विकराल
अवस्थालाई ‘सहरले पन्छिने गराएकी बुहारी’ र ‘डस्टमान्डु’ ले अभिव्यक्त गरेको छ । त्यस्तै भुँवाले
पारेको वातावरणीय मैलोपन ‘अभिघात धुवाँ प्रतियोगिता’ पनि धुवाँ प्रदूषणको बारेमा लेखिएको
एउटा रोचक कविता हो । धुवाँ स्वयम्लाई ‘म’ पात्र बनाएर लेखिएको यस कविताभित्र आफू प्रदूषणको
राजा भएको भावलाई व्यङ्ग्यमार्फत् रमाइलोसँग प्रस्तुत गरिएको छ भन्दै वैज्ञानिक आविष्कारले यस्ता
प्रदूषणलाई रोक्न सकिन्छ भन्ने आशावादी सन्देश यो कविताले दिन खोजेको छ ।
चाडपर्वका नाममा गरिएका रमाइलो भन्ने नकामले वातावरणमा प्रतिकूल असर पारिरहेको छ भन्ने
भावमा तिहार र अन्य उत्सवमा पड्काइने आतिसबाजीले पारेको सांस्कृतिक गतिविधिलाई प्रदूषण मानेका
छन् । त्यही भावमा लेखिएको ‘जीवश्रेष्ठ मानिस??’ मा ध्वनि प्रदूषण र त्यसले पारेको मानसिक
प्रभावलाई यसरी अभिव्यक्त गरिएको छ :
फेरि आएछ तिहार
पटेका, बम र आतसबाजी पड्काउँदै
झिरझिरे फुलझडी रकेटलाई सल्काउँदै
फोक्सै फोक्सोमा धुवाँ भर्न
वातावरणलाई अझ रोगी बनाउन
सुन्दर पृथ्वीको आयु घटाउन ।..(पृ.१३३)
पटेका पड्काउने र आतिसबाजी गर्ने क्रियाकलापले ध्वनि साथै वायु प्रदूषण सृजना गर्छ। यसले चराचुरुङ्गी,
किराफट्याङ्ग्राजस्ता संवेदनशील प्राणीको परिवृत्तिमा नकारात्मक असर पार्छ भन्दै कविले पशु
अधिकारकर्मीले बलि प्रथाको विरोध गर्न लागे भने वातावरण अभियन्ताले तिहारमा पटेका पड्काउने
चलनको विरोध गरिनुपर्छ भन्ने सन्देश दिन खोजेका छन् । त्यस्तै प्रकृति र वातावरणलाई जोगाउन
संस्कारको परिवर्त गर्नुपर्ने कुरामा शवलाई जलाएर खोलामा बगाउने चलन पनि तुरुन्तै बन्द गरिनुपर्छ ।
यसलाई गाड्दा पनि पानीको मुहान, कुवा, र खोलानालाबाट टाढाको जमिनमा मात्रै गाडिनुपर्छ । अहिलेको
इन्सिनरेटर प्रविधि प्रयोग गरेर अन्त्येष्टि गर्नसके वातावरणका लागि झनै उत्तम हुन्छ भन्ने वैचारिकता
सापकोटाका कवितामा पाइन्छन् ।
वर्तमान समयमा वातावरणमा जलवायु परिवर्तनका प्रसङ्ग र अवस्थालाई आम चासोको विषय बनाइएको
छ । जलवायु परिवर्तन ल्याउने कलकारखानाबाट उत्पादन हुने रसायन, हरितगृह ग्याँस–कार्बन
डाइअक्साइड, नाइट्रोक्साइड र मिथेन हुन् यिनका कारणले जलवायु परिवर्तनको प्रभाव वातावरणमा
कस्तो पर्दैछ, विकिरणहरू सोझैं पृथ्वीमा आइपुग्दा मानव स्वास्थ्य र पृथ्वीको अवस्था के हुँदैछ भन्ने
भावलाई पृथिवीवाद, प्वाल परेको छाता, सन २०५० को पृथिवी, रुख, विस्थापन, बिचरा बुढो नदी र
पीडित पृथ्वी शीर्षकमा समेटिएका छन् ।
‘प्वालपरेको छाता’ कवितामा छालामा क्यान्सर रोग ल्याइदिने पातलिँदै गरेको ओजोन तहजस्तो
समस्यालाई उठाइएको छ । एयर कन्डिसनर र रेफ्रिजरेटरजस्ता उपकरणमा प्रयोग हुने
क्लोरोफ्लोरोकार्बनजस्ता ग्याँसको उत्सर्जनले ओजोन तह पातलिएको र ओजोन तहलाई एक प्वाल परेको
छातासँग तुलना गर्दै बाजे र नातिबिच संवाद यस कवितामा प्रस्तुत गरिएको छ । त्यस्तै ‘सन २०५० को
पृथिवी’ मा अबको दुईतिन दशकमा तापक्रम बढ्ने, समुद्रको सतह बढ्ने र पानी निकै दूषित हुनसक्ने
कि रिसाइकलिङ् गरेर मात्रै खान मिल्ने जस्ता वातावरणीय समस्याका भविष्यवाणी गरिएका छन् भन्दै
भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । हाम्रा प्रकृतिबाट प्राप्त जल प्रशोधनबिनै पिउन मिल्छ तर
बढ्दै गएको भू र जल प्रदूषणले गर्दा पानीको यो शुद्धता त्यति लामो रहँदैन भन्ने चिन्ता व्यक्त गर्दै
प्रदूषण नगर्न र वातावरणप्रति सजग हुन आग्रह गरिएको छ । वर्तमान विश्वमा उर्जा संकट देखिएजस्तै
निकट भविष्यमा खानेपानीको लागि पनि युद्ध हुनसक्ने भाव कविले व्यक्त गरेका छन र पानीका लागि
युद्ध सुरु भइसकेको छ भन्ने उदाहरणमा नाइल नदीको पानी बाँडफाँडका लागि इथोपिया र इजिप्टबिच
भएको वाक्युद्धलाई कवितामा यसरी अभिव्यक्त गरिएको छ ः
स्टक् एक्सचेन्जमा बढ्दैछ पानीको मोल
प्रतिदिन
सुन र तेलको मोललाई पनि उछिनी ।
व्यस्त छन् बहुराष्ट्रिय कम्पनीहरू
नदी पोखरी र तालहरू किन्नमा ।
फैलिएको छ कुरा गाइँगुइँ हावामा
तयारीमा छन् अरे पराक्रमी देशहरू
मोल्नलाई तेस्रो विश्वयुद्ध
खानेपानीकै लागि अब ।(पृ.६९)
हामी प्रकृतिका पूजक हौं । पिपल, शमी, अमला बर जस्ता रुखलाई देवताका विभिन्न रूप मान्दछौ ।
‘रुख’ कवितामा रुखले मानव जीवनका लागि गरेको उत्सर्गको महिमा गाइएको छ । वर्तमान समयमा
मान्छेले आफ्नो सुविधा, ऐश आराम र प्रयोगका लागि वनजंगलफँडानी गरिएकोमा चिन्ता प्रकट गरिएका
छन् जसले गर्दा प्राकृतिक विनाश बढिरहेको छ । बाढीपहिरो जस्तो प्राकृतिक प्रकोपले मानिस र वन्यजन्तु
दुवैलाई विस्थापित पार्न सक्छ । तर मानिस शिविरमा बसेर पुनस्र्थापनातिर लाग्न सक्छन् भने पशुपंक्षी
मासिँदै जान्छन्, चिलका केही प्रजाति र चराहरू मासिएका छन् भन्नदै कविले ‘विस्थापन’ जस्ता कविता
रचना गरेका देखिन्छन् । बाढी आएर केही चिजलाई बगाएर लगिदियो भने हामी नदीलाई दोष दिन्छौँ।
तर वास्तवमा बाढी ल्याउन भूक्षयको ठुलो हात हुन्छ । जब नदीको पिँध पानीले बगाएर ल्याएको
माटोढुङ्गाले भरिन्छ तब नदीको आयतन खुम्चिन्छ र पानी छचल्किन जाँदा बाढी आएको मानिन्छ । फेरि
भूक्षय गराउने अरू कोही होइन मानिस नै हौं । यसरी कयौं प्राकृतिक प्रकोपका कारक हामी मानव नै
हौं। तर अज्ञानी हामी मान्छेले दैवलाई, भगवान्लाई दोष दिन्छौं। तर विज्ञान अध्ययन गरियो भने हुन्डरी,
डढेलो, बाढीपहिरो इत्यादिको प्रमुख कारक मान्छे नै हो उसले गरेको प्रकृति दोहन र प्राकृतिक विनाशका
कारण यस्ता विपत्ति आएका हुन भन्ने भाव ‘बिचरा बुढो नदी’मा यसरी अभिव्यक्त भएको देखिन्छ :
केही पर
एक हुल वन्यजन्तु चिच्याउन लागे
अति पापी भएको छ यो नदी हिजोआज
स्वात्तै बगाई लग्यो हाम्रा नानीहरू पनि
भेलका साथै
बनाई हामीलाई सन्तानहारा (पृ.८७)
त्यस्तै ‘सोचमग्न समुद्र’ कवितामा पृथ्वीको वातावरणीय सन्तुलनमा समुद्रको महइभ्वलाई प्रस्तुत गरिएको
छ । समुद्रको कार्बन सिञ्चित गरेर राख्ने ठुलो क्षमता हुन्छ तर जलवायु परिवर्तनको कारणले उष्णता
बढ्न जाँदा कार्बन सिञ्चित गर्ने क्षमतामा स्वत परिवर्तन आउँदै गरेको छ । जसको प्रभाव समग्रमा
पृथ्वीको इकोसिस्टममा देखिन विषमतापूर्ण अवस्थालाई कवितामा यसरी व्यक्त गरिएको छ –
बिथोल्दै छ इकोसिस्टमको जैवविविधता
उष्ण समुद्री पानीले।
अनुकूल ठाउँ खोज्दै गइसके समुद्री जीवहरू
रिक्त पारी पुर्खौली थलो
पग्लन लागे गोलार्धका हिमावृत पहाडहरू
बजाउँदै मृत्यु घण्टा टापुहरूको ।
हुर्किनै पाएनन् हिमलेउहरू अन्टार्कटिकाका
पेटभर्न ध्रुवीय भालु ह्वेल सिलहरूका ।( पृ.१२४)
संसारका सबै जीवजन्तुको समान प्रकारले बाँच्न पाउने अवस्था छ । मान्छे आफूसँग भएको चेतनाबाट
केवल आफ्नै सुखसुविधाका निम्ति, आफ्नो स्वादिष्ट आहारका निम्ति वन्यजन्तुलाई मारिरहेछ, र
चोरीसिकार गरिरहेछ भन्दै संसारबाट लोप हुँदै गएका जनावरका लागि कवि निकै चिन्तित छन् । बाघ,
गैंडा, हात्ती, शालक जस्ता केही वन्यजन्तु लोपान्मुख हुनमा चोरीसिकारको ठुलो हात छ । सन् १९७०
देखि यता धेरै प्रकारका वन्यजन्तु लोप भइसकेको वैज्ञानिक तथ्याङ्कले देखाउँछ । । तिनलाई जोगाउन र
संरक्षणका निम्ति कविले सबैलाई आव्हान गरेका छन् । यस सङ्ग्रहभित्रका ‘अपशकुन’ र ‘अतिक्रमणकारी’
कवितामा कविले प्राणिका संरक्षणका आवाज प्रस्तु गरेको देखिन्छ । साथै मानिसले आफ्नो आवश्यकता
परिपूर्ति गर्न अतिक्रमणकारी’ कविता गैंडाको खाग र हात्तीको दाह्राका अवैध व्यापार गरेको छ । यो
गैरकानूनी कार्य पनि हो भन्ने आदर्शका साथ यस्ता कार्य गर्नेलाई मृत्युपछिको सजाय पनि डरलाग्दो हुने
भन्दै संस्कारलाई सम्झाएका छन् ।
मानव सभ्यताको विकासक्रमसँगै मानवले प्रकृतिको महइभ्व बुझेर नै यसलाई पूज्दै र मान्दै आएको छ ।
जसलाई हाम्रा वेद उपनिषद् तथा वैदिक साहित्यले स्पष्ट पारेको छ । विश्वका सबै धर्ममा प्रकृतिलाई
विविध रूपमा मानिँदै र पूजिँदै आएको पाइन्छ । धर्ममार्फत् प्रकृतिको संरक्षण गरिएको छ । हाम्रा पूर्वीय
धर्मग्रन्थमा पर्यावरण संरक्षणका विषयवस्तुलाई अत्यधिक मात्रामा समेटिएको छ । ‘बद्लियो यमलोक’
शीर्षकको कवितामा यमलोक र चित्रगुप्तजस्ता मिथकीय पात्रको चित्रण गरिएको छ । यस कवितामा
मान्छे मार्ने ज्यानमारा, अपहरणकर्ता, बलात्कारीलाई मात्रै प्राय सरकारले दण्ड दिन्छ । तर प्रकृतिलाई
नङ्ग्याउन खोज्नेहरू दण्डसजायबाट जोगिन्छन् । हाम्रो धर्मअनुसार पनि अरूको भलो गर्ने स्वर्ग, अरूको
कुभलो गर्ने नर्क जाने विश्वास छ । मठ मन्दिर निर्माण र मन्दिर गएर भगवान् पुज्ने मात्रै धर्मात्मा हो
भन्ने हाम्रो परम्परागत मान्यतालाई यस कविताले खण्डन गरिदिएको छ । यो कवितामा मान्छे नर्क पुगेको
उसका वातावरणीय पाप कर्मले गर्दा हो भन्ने भावलाई यसरी प्रस्तुत गरेको छ :
नर्क अवश्य मिल्छ उसलाई
जसले विनाश गर्छ वातावरण
प्रचार गर ए चित्रगुप्त यी सब कुरा
मिडिया, होर्डिङ र वेबसाइटमार्फत ।
फिलहाल
शूलीमा चढाऊ यस पापीलाई
पर्यावरणको खुङ्खार आतङ्ककारीलाई ।…..
यसरी प्रकृति र वातावरणका भिन्न विषय, आधुनिकतार उत्तरआधुनिकतासँगै भविष्याको कल्पना,
स्वैरकल्पना र मिथकलाई जोडेर लेखिएका कवि देवेन सापकोटा कविताले मानिसलाई पर्यावरण उर्फ
प्रकृतिप्रति निकै चिन्तनशील बनाउँट । उनको स्वैरकाल्पनिक कविता‘डिकोडिङ मसिन’ कवितामा मानिस
प्राणीको भाषा बुझ्दैन त्यसैले ऊ प्राणीप्रति निर्मोही बन्छ भन्ने खालको भाव व्यक्त गरिएको छ । प्राणीको
भाषालाई मान्छेको भाषामा अनुवाद गर्नसक्ने मसिन आविष्कार गरेर त्यसको परीक्षण गर्न चिडियाखाना
गएको कुरालाई चित्रण गरिएको छ । अनि चिडियाघरका बन्दी पशुपङ्क्षी आफ्नै देशजस्तो वनजङ्गल फर्किन
चाहेका उक्त डिकोडिङ मसिनद्वारा मानिसलाई जानकारी हुन्छ भन्ने चिन्तन यहाँ पाइन्छ भने ‘फुच्चे
मानिस’ कवितामा बिना कुनै यन्त्रको सहायताले हजारौँ माइल उड्नसक्ने पाहुना चराको क्षमतालाई
वर्णन गरिएको छ । मानिसले प्रकृतिप्रति गरेको ज्यादति र दोहनले गर्दा रोगको महामारी स्वरूप कोरोना
महामारीले विश्वमै ठूलो त्रास सिर्जना गरेको हो भन्दै ‘त्यो बल्ल फेलाप¥यो’ कविता कोरोना भाइरसको
उत्पत्तिका कारण मानिस नै हो भन्ने वैज्ञानिक मान्यतालाई समर्थन गर्दै लेखिएको देखिन्छ ।
‘एक युगपछि ब्युँझदा’ स्वैरकाल्पनिक कविता हो । यस कवितामा ग्लोबल वार्मिङ्ले यस्तो खतरा उत्पन्न
गराएको छ कि पृथ्वी बस्न लायक नरहेर कुनै दिन चन्द्र्रमा र मङ्गल ग्रहमा हामीले डेरा सार्न पर्नेछ । तर्क
वैज्ञानिक भनाइमा आधारित रहेको देखिन्छ । यसैलाई बडो काल्पनिक ढङ्गले कवितामा कम्प्युटर प्रविधिको
चरम विकासले रोबोटिक युग बढ्दै जाने र मानवीय युग घट्दै जाने सम्भावित घटनालाई प्रस्तुत गरिएको
छ । फोहोर बटुल्ने केटोलाई हामीले माया गर्नुपर्छ उसले वातावरण स्वच्छ र सुन्दर पार्न महइभ्वपूर्ण
भूमिका निर्वाह गरेको छ भन्ने तथ्यलाई यस कवितामार्फत सचेत बनाएका छन् ।
यसरी कवि सापकोटाले विश्व परिवेशलाई समेटेर प्रकृतिको संरक्षणका लागि विशेष आग्रहसहित अविश्रान्त
पृथिवी कविता सङ्कलन गरी हामीलाई वातावरणप्रति सचेत गराएका छन् भन्न सकिन्छ । प्राय सबै
कवितामा वातावरणीय समस्या मात्रै औंलाइएको छैन अपितु समाधानको बाटो पनि देखाइएको छ, चेतना
बाँडिएको छ । यसरी कवि सापकोटाले रोगी पनि आफै चिकित्सक पनि आफै बनेर एक उत्कृष्ट
सिर्जना गरेका छन् । सबै कविता मझौला आकारका छन् । यस संग्रहका कविताका आस्वादनमा विश्व
वातावरण/पर्यावरणका समस्याहरूप्रति विज्ञानको ज्ञान भएका, प्राज्ञवर्गमा, र वातावरण संरक्षणमा
लगिपरेका अभियानकर्ता मात्र नभई सर्वसाधारण पनि सचेत हुनेछन् । कविता संग्रह पठनीय र संग्रहनीय
रहेको छ ।
चन्द्रागिरि, काठमाडौं