
सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ ।
निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ ।
हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि हवाई उडान हुन सकेको छैन ।
हवाई उडान रोकिएसँगै खुम्बु क्षेत्र भ्रमण गरी फर्कने तयारीमा रहेका पर्यटकहरु लुक्लामै अड्किएका छन् । यतिबेला लुक्लाका होटल र गेस्टहाउस पर्यटकले भरिएका छन् ।
रा एयरलाइन्स लुक्लाका इञ्चार्ज अमृत मगरका अनुसार एयरलाइन्सबाट टिकट काटेका करिब एक हजार ५०० पर्यटक अड्किएका छन् ।
लुक्लामा मात्रै होइन नाम्चेबजारका होटल पनि पर्यटकले भरिएका छन् । नाम्चेमा मात्रै करिब एक हजार २०० पर्यटक रोकिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए ।


