
काठमाडौं।नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रम केन्द्रित छलफल भएको छ।
लामो समयपछि बुधबार दिउँसो नेता कोइराला र महामन्त्री थापाबीच कुराकानी भएको हो। उनीहरूबीच गत जेठ १७ गतेपछि भेटवार्ता भएको थिएन।
‘नेता कोइराला र महामन्त्री थापाबीच पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाकेन्द्रित कुराकानी भएको हो,’ भेटवार्ताबारे जानकार कांग्रेसका एक नेताले सेतोपाटीसँग भने, ‘भेटवार्ता सौहार्दपूर्ण रह्यो।’
भदौ २३ र २४ गते जेनजी पुस्ताले आन्दोलन गरेपछि कांग्रेस सम्मिलित केपी शर्मा ओली सरकार ढलेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव घोषणा गरेका छन्।
कांग्रेसले संस्थागत रूपमा प्रतिनिधि सभा विघटनको विरोध गरेको छ। तर नेता कोइराला र महामन्त्री थापा भने पार्टी चुनावमा जानुपर्ने मत राखिरहेका छन्। उनीहरूले नेतृत्व र नीति परिवर्तन गरी चुनावमा भाग लिनुपर्ने कुरा राखेका हुन्।
महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समिति बैठकमै नियमित वा विशेष महाधिवेशनको प्रस्ताव राखेका थिए तर सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरूले त्यसको विरोध गरेका थिए।
नेता कोइराला पनि नेतृत्व परिवर्तन गरेर चुनावमा जानुपर्ने पक्षमा छन्।
सभापति देउवा पक्षले केन्द्रीय समिति बैठक राखेर एक वर्ष कार्यकाल थप गर्ने तयारी गरेको भन्दै संस्थापनइतर समूह नियमित वा विशेष महाधिवेशन पक्षमा जुटेको छ।
यसै सन्दर्भमा दुईको छलफललाई महत्वका साथ हेरिएको छ ।