
काठमाडौं ।साहित्यिक पत्रकार संघले साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’को परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा राजधानीमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै पूर्व राजदूत एवम् कवि भीम उदासले द्वन्द्व,अवसर र रोजगारीको अभावमा गैरकानूनी रूपमा अमेरिका जानेहरूको ठूलो संख्या रहेको र तिनीहरू चारैतिरबाट शोषणमा परेको जस्तो संवेदनशील विषयलाई उपन्यासले उठाएको बताए।
विशिष्ट अतिथि प्रा.डा.सुरेन्द्र केसीले नेपालीहरूले भोगिरहेको पीडाप्रति राजनीतिक दल र नेताहरू संवेदनशील नभएको धारणा राखे ।
कार्यक्रममा स्वागत गर्दै अध्यक्ष लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि आफ्नो धारणा राख्दै कृतिकारको परिचय,कृतिको महत्व, सापसको परिचय र अन्य समसामयिक विषयमा बोले ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले २०५२ पछि सर्वसाधारण नेपालीले भोगेका र भोगिरहेका त्रासदी र पीडादायी अवस्थालाई पाताल उपन्यासले अभिलेखीकरण भएको चर्चा गरे ।
वरिष्ठ आख्यानकार नयनराज पाण्डेले पाताल उपन्यासको राम्रो चलचित्र बन्नसक्ने बताउँदै साहित्यिक कृतिको चलचित्र बनाउन जोखिम भने हुने उल्लेख गरे ।
निबन्धकार मोमिलाले पाताल उपन्यासमा देखाइएको पीडा, दुख र त्रासले पाठकलाई मर्माहत बनाउने बताउँदै पुस्तक राम्रो भएको विचार व्यक्त गरिन् ।
भने साहित्यकार एवम् शारदा मासिकका सम्पादक विमल भौकाजीले उपन्यासमा पाठकलाई तान्ने क्षमता रहेको विचार व्यक्त गर्दै उपन्यासमा अध्यायको शीर्षक राख्दा कौतूहल समाप्त हुने भएकोले उपन्यासकारहरूले यसतर्फ ध्यान दिनुपर्ने बताए।
समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले पाताल एक सफल उपन्यास भएको र यसले नेपाली उपन्यासका क्षेत्रमा आफ्नो स्थान सुरक्षित राख्ने विश्वास व्यक्त गरे ।
डा. शान्तिमाया गिरीले सफल उपन्यास लेखनका लागि उपन्यासकारलाई बधाई दिँदै उपन्यासले नेपाली उपन्यासका क्षेत्रमा अहिलेको अत्यन्त संवेदनशील विषयलाई उठाएकोबताइन् ।
कार्यक्रममा कृतिकार पदम विश्वकर्माले अनलाइनबाटै धन्यवाद ज्ञापन गर्दै आफ्नो सिर्जना यात्राबारे प्रकाश पारे ।
कार्यक्रमको सहजीकरण संघको कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्यमावती सिंहले गरिन्।




