
काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोलीले मंगलबार आफ्नो तेस्रो अभ्यास खेलमा सफलता हात पारेको छ ।
हाल श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो
।पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले २६ बलमा सर्वाधिक ३७ रन बनाएकी थिइन् । बिन्दू रावलले पनि टोलीको खातामा ३१ बलमा २० रन थपिन् ।
जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका डेभलपमेन्ट स्क्वाडले भने १९.५ ओभरमै अलआउट हसनुअघि एक सय १० रनमात्र बनाउन सक्यो । श्रीलंकाली टोलीका लागि भी.बालासूर्याले ३८ र आर.नेथ्रान्जलीले २६ रन बनाए । नेपाली टोलीका बलर कविता जोशीले तीन र कृतिका मरासिनीले दुई विकेट लिए ।





