काठमाडौँ । उपचारमा गरिएको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै काठमाडौंको नयाँ बानेस्वरस्थित एभरेष्ट अस्पताल र त्यहाँ कार्यरत चिकित्सक विरुद्ध उपभोक्ता अदालतमा उजुरी परेको छ ।
शल्यक्रियामार्फत स्वस्थ शिशुलाई जन्म दिएकी ४१ वर्षीया मनिता शर्माको अस्पताल प्रशासन र प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. ज्योत्स्ना शर्मा तिवारीको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका श्रीमान सुवास पराजुलीले ५ करोड रुपैयाँ क्षतिपूर्ति मागसहित उपभोक्ता अदालतमा मुद्दा दायर गरेका हुन् ।
पिडितले दायर गरेको उजुरीमा भनिएको छ, ‘उपभोक्ता संरक्षण ऐन २०७७ को दफा ३ (छ), (ज), दफा (५०), (५१) समेत बमोजिम विपक्षीहरुसँग मागअनुसारको क्षतिपूर्ति दिलाई पाउँ ।’
काठमाडौं महानगरपालिका वडा नं ३२ घर भएका पराजुली अहिले ७ महिनाकी छोरी स्याहार्दै बसिरहेका छन् । उनका अनुसार नेपाल बैंकमा उप–प्रबन्धक पदमा कार्यरत मनितालाई कुनै किसिमको रोगव्याधि नभएर उनी स्वस्थ एवं स्फूर्त थिइन् ।
आर्थिक र पारिवारिक स्थिरतापछि ०८० सालमा बच्चा जन्माउने र परिवार वंश अघि बढाउने योजनाअनुसार गर्भ रहेबाटै काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी अस्पताल) मा डा. ज्योत्सना शर्मासँगै चेकजाँच र परीक्षण गरिएको थियो।
गर्भमा रहेको बच्चामा समस्या देखिएको भन्दै डा. शर्माकै सुझावमा ०८० असार १५ मा गर्भपतन गराइएको पीडितको भनाइ छ । अर्को सन्तान जन्माउँदा बच्चा र आमाको स्वास्थ्यमा कुनै किसिमको कमी नहोस् भनेर उनीहरुले बच्चा पेटमा बसेदेखि नै डा. शर्माले भने अनुसार गरिरहेका थिए । उनै डाक्टरले भनेअनुसारको औषधीहरु सेवन गरेको तथा बोलाएको बेलामा नियमित फलोअपमा गइरहेको पीडितको भनाइ छ ।
फलोअपकै क्रममा मिति ०८१ कात्तिक २५ मा मनितालाई २ दिनसम्म एभरेष्ट अस्पतालमा भर्ना गरी भ्रुणको फोक्सोको विकासका लागि डेक्सामेन्थासोन ६ एमजी र १२ एमजी भन्ने स्टोरोइड दिइएको थियो । साथै लिभर फङशन टेष्ट गर्दा लिभरमा समस्या देखिसकेको भए पनि आफूहरुलाई अस्पताल प्रशाशन र डाक्टर शर्माले कुनै जानकारी नगराएको पीडितको आरोप छ।
बच्चा जन्मने समय नजिकिँदै गएकाले ०८१ मंसिर १६ मा डेलिभरी गरौं भन्दा डाक्टर शर्मा पोखरा जानुपर्ने र आमाको स्वास्थ्य अवस्था सामान्य रहेकाले मंसिर २५ गते दिउँसो ३ बजेको समय दिएर एभरेष्ट अस्पताल बोलाइएको थियो । सोही अनुरुप आफूले टिकट लिएर ३ बजेका लागि तयारी गरेको मनिताका पतिले अदालतमा दायर गरेको फिरादपत्रमा जनाइएको छ ।
अस्पताल लैजानेबेलामा अत्यधिक पेट दुख्न थालेपछि दिउँसो साढे १ बजे नै डा.लाई फोन गर्दा नउठेको पीडितको गुनासो छ । डा. शर्मासँगै केही महिनाअघि भएको सल्लाहबमोजिम आफूहरु केएमसी अस्पतालमा गएको मनिताका पतिले बताएका छन् ।
डा.शर्मा केएमसी अस्पतालको गाइनो डिपार्टमेन्ट प्रमुख भएको र सोही अस्पतालमा उपस्थित हुँदाहुँदै पनि आफूहरुलाई फेरि एभरेष्टमै जान भनेपछि बिरामीलाई २ः१५ मा एभरेष्टमा ल्याएर लिभर जाँच लगायत विभिन्न परीक्षणहरु गरिसकेपछि ४ः३० मा मात्रै डाक्टरले अस्पतालमा आएर ५ः१७ मा सर्जरी गरेपछि छोरी सान्विका पराजुलीको जन्म भएको पीडितको भनाइ छ ।
बच्चालाई २४ घण्टा एनआइसीयूमा राख्न सल्लाह दिएर आमाको अवस्था ठिक छ भन्दै पोष्टअप वार्डमा सारियो । त्यसको केही समय पछि साँझ ६ः४५ मा मनिताले टाउको र माथिल्लो पेट दुखेको भनिन् र साँझ ७ बजे उनी बेहोस भइन् ।
त्यसलाई पनि सामान्य हो औषधी दिएको छु ठीक हुन्छ भन्दै ८ः३० मा डा. शर्मा भोलि आउँछु भनेर अस्पतालबाट निस्केपछि रातिको १० बजे एभरेष्ट अस्पतालका सुरक्षा गार्ड र सरसफाई कर्मचारीले बिरामीलाई वार्डबाट निकाल्दै इमर्जेन्सीमा आइसीयुमा लगेको परिवारका सदस्यको भनाइ छ ।
बेहोस पत्नीसँगै आफू पनि जान खोज्दा आफूलाई रोकिएको र उनलाई आइसीयुमा भर्ना गरिएको पतिको गुनासो छ । यति हुँदासम्म पनि कुनै जाँच, परीक्षण, उपचारको विधि प्रक्रिया र विरामीको रिपोर्टको सन्दर्भमा डा. ज्योत्सना शर्माले बिरामीका आफन्तलाई केही जानकारी दिने वा मन्जुरी लिने जस्ता कार्य नगरी गम्भीर चिकित्सकीय लापरबाही गरेको निवेदकको आरोप छ।
मनिताका पतिले भनेका छन्, ‘बच्चा जन्मिएको भोलिपल्ट मिति ०८१ मंसिर २६ गते १० बजे र १२ बजेको रिपोर्ट झन खराब आएको रहेछ तर पति र परिवारका सदस्यलाई समेत जानकारी नदिई ऋएच् दिने अवस्था आएपछि मात्रै तिम्रो बिरामीलाई अब हामी हेर्न सक्दैनौँ भनेर अन्यत्र रिफर गर्न लगाइयो ।’
उपभोक्ता अदालतमा दर्ता भएको उजुरीमा भनिएको छ,‘काठमाडौँ मेडिकल कलेज सीनामंगलमा डेलिभरी गर्ने पूर्वसहमतिअनुसार डा. शर्मासँगै स्वास्थ्य परीक्षण गर्दै आएको र बच्चालाई जन्मदिने बेलामा मलाई बाहेक कसैलाई तपाईको श्रीमतीको स्वास्थ्य अवस्था जानकारी छैन, त्यसैले एभरेस्ट अस्पताल नयाँ वानेश्वर ल्याए म डेलिभरी गराउँछु नत्र म हेर्दिनँ भनेर डा. भनेपछि अन्तिम अवस्थामा आपतमा परी विपक्षले भनेको अस्पतालमा जान बाध्य भइयो ।’
पत्नी मनिताको मृत्युपछि डा. शर्मालाई भेट्न खोज्दा आफूहरुलाई समय नै नदिएर भाग्न खोजेको मृतकका पतिको गुनासो छ । न्यायका लागि नेपाल मेडिकल काउन्सिल, केएमसी अस्पताल, मानव अधिकार आयोग, लगायत विभिन्न निकायमा निवेदन गरे पनि कुनै सुनुवाई नभएपछि उपभोक्ता अदालतमा मुद्दा दायर गरेको उनले बताएका छन् ।