
दाङ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीलाई बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन असार ५ गते नै आग्रह गरेका थिए। तर चौधरीले राजीनामा दिएका थिएनन्।
कृषकका लागि अनुदानमा वितरण गरिएको पावर टिलर (जोत्ने हाते ट्र्याक्टर) का विषयमा लेनदेन गरेको आरोप मन्त्री चौधरीमाथि लागेको थियो।
सोही कारण चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले आग्रह गरेका थिए।
मुख्यमन्त्रीका प्रेस संयोजक डम्बरबहादुर बमका अनुसार विवादित छवि सार्वजनिक भएकाले असहज महसुस गरिएकाले मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई बिहीबार पदबाट बर्खास्त गरेका हुन्।
मन्त्री चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी रूष्ट बनेको छ। उसले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।



