काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकका लागि छलफलका एजेण्डाहरु तय गरेको छ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समितिका छलफलका एजेण्डाहरु तय गरेको हो।
कांग्रेसको केन्द्रीय समितिको बैठक सोमवारदेखि सुरू हुँदैछ।
बैठकले भ्रातृ संगठनहरुलाई समय थप्ने विषयलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने भएको छ।
केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
त्यस्तै पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ।
प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने प्रवक्ता महतले जानकारी दिए।
उनले केही भ्रातृ संस्थाले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताए।