काठमाडौं । तिब्बती भाषाका नेपाली अनुवादक (लोचावा) पुण्यप्रसाद पराजुलीले यही जेष्ठ ३० गते शुक्रबार आफ्नो ध्यान अनुभव सुनाउनु हुने भएको छ । स्वयम्भूको बोधिगृहस्थित बुद्धप्रकाश फाउन्डेसनले हरेक हप्ताको शुक्रबार ध्यान शिक्षण र हरेक महिनाको अन्तिम शुक्रबार भने “मेरो ध्यान यात्रा” शृङ्खला सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत यस पटक लोचावा पराजुलीको अनुभव सुनाउने कर्यक्रम तय भएको हो ।
यस शृङ्खलामा ख्यातिप्राप्त बौद्ध विद्वान, ध्यान अभ्यासी, साधक, वा संघका सदस्यहरूले आफ्नो ध्यान साधनाको यात्राबारे बोल्ने र वक्तासँग सहभागीहरुको प्रश्नोत्तरतथा छलफल हुने गर्दछ ।
प्रख्यात बौद्ध विद्वान, अनुवादक तथा साधक पुण्यप्रसाद पराजुलीले तिब्बती भाषाबाट नेपालीमा ६० भन्दा बढी साधना ग्रन्थहरू अनुवाद गर्नुका साथै धेरै पुस्तक तथा लेखहरू लेख्नुभएको छ । उहाँले दलाई लामा, छोकी निमा रिन्पोछे, मिङ्ग्युर रिन्पोछे, छोक्न्यी रिन्पोछे, र झोङ्सार ख्येन्त्से रिन्पोछेजस्ता गुरुहरूको सार्वजनिक शिक्षणमा अनुवादकको रूपमा सेवा गरिसक्नुभएको छ । हाल उहाँ अमेरिकास्थित कार्लटन कलेजको बोधगया कार्यक्रममा अतिथि प्राध्यापक हुनुहुन्छ ।
शुक्रबारको कार्यक्रममा उहाँले ध्यान, सेवा र रूपान्तरणको आफ्नो यात्राका सम्बन्धमा बोल्नु हुनेछ ।
कार्यक्रममा सहभागी हुन चाहँनेहरुलाई हरित पहल स्वरुप कागज वा प्लास्टिकका कपको प्रयोगलाई निरुत्साहित गर्न चिया तथा पानी पिउन आफ्नै कप लिएर आउन फाउन्डेसनले आग्रह गरेको छ ।
कार्यक्रमको मुख्य सत्र साँझ ५:०० बजे सुरु हुने तथा त्यसअघि, ४:३० बजे मार्गदर्शित ध्यानको एक अतिरिक्त सत्र सञ्चलन हुने फाउन्डेसनले जानकारी दिएको छ ।