
काठमाडौ । असारको बेला किसानहरुलाई रोपाईं गर्न भ्याइ नभ्याई छ । उसो त यसपाला समयमै पानी नपरेर मर्कामा परे किसान । तर पनि रोपाईलाई उत्सव मनाएर मनाउने चलन परापूर्वकालदेखि नै चलेको हो । यहि चलन क्रमशः हराउँदै जान थालेकोमा गायक कलाकारहरुलाई चिन्ता हुनु स्वभाविकै हो । यस्तै चिन्ताले पिरोलेर मौलिक लोकभाकाहरु संकलन गरी दर्शक श्रोता माझ ल्याउने गायक हुन राजेश ढकाल ।
उनको हालै नेपालको सांगितिक बजारमा आएको असार विशेष घाँसे भाका(असार १५) को गीतले भब्य चर्चा पाइरहेको छ । छोटै समयमा पनि डिजिटल बजारमा यसले म्यूजिक ट्रेडिँगको २७ नम्बरमा रहन सफल भएको छ ।
राजेश ढकाल काँठे भाकामा एकदमै चलेको नाम हो । करिव दुई दशक लामो गायन क्षेत्रमा संघर्ष गर्दै यात्रा पारा गरेका ढकालका ‘रातो साडी पानबुट्टे चोली’,‘ हे बैगुनी,’ ‘दुईखोली दोभान’,‘घरमाईत’, ‘नाचिदेउ छमछमी’ लगायत दर्जनौं भाकाका गीतहरु नेपाली साँगितिक क्षेत्रमा चलेका छन् । गत सालमात्र विशेष मौलिक लोक घाँसे भाकाको ‘गैह्रीखेतको रोपाईं ’ले लोकप्रियता हासिल गरेको थियो ।
‘असार १५’मा लोकप्रिय गायिकाद्धय प्रतिमा अर्याल र सरु गौतमले ढकाललाई साथ दिएका छन् भने म्यूजिक भिडियोको निर्देशन मिलन श्रेष्ठ तथा भिडियो सम्पादन रोशन धितालले गरेको उक्त एल्बमको एरेन्ज विष्णु तामाँगले गरेका हुन् । गीतको शब्द र संगीत राजेश ढकालकै रहेको छ ।
म्यूजिक भिडियोमा ढकाल सहित गायिका द्धय अर्याल र गौतमका साथमा अनिता पौडेल,पशुपति दाहाल,हिराकाजी सेन्चुरी,सिर्जन पण्डित र शिवजी मिश्रको बेजोडको अभिनय रहेको छ ।


