काठमाडौं।रूसले युक्रेनमाथि रातभर हमला गरेको छ ।
उसले युक्रेनको राजधानीमा मिसाइल र ड्रोन हमला गरेको छ।
आइतबार बिहान राजधानी किभमा लक्ष्य गरेर रूसले मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रूसले प्रहार गरेको मिसाइल र ड्रोनहरू किभको हवाइ प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको छ। यद्यपि ७ जना घाइते भएको र एउटा अपार्टमेन्टमा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
शनिबार दुवै देशले युद्धबन्दी रिहा गरेपछि रूसले युक्रेनको राजधानी लक्ष्य गरेर हवाई आक्रमण गरेको हो।
बितेको चौबीस घन्टामा रूसी आक्रमणबाट युक्रेनमा १३ जनाको मृत्यु भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
पूर्वी दोनेत्स्क प्रान्तमा चार जना, दक्षिणी खेरसन र ओडेसामा पाँच जना, उत्तरी खार्किभमा चार जना रूसी हमलामा मारिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
युक्रेनको वायुसेनाले रूसबाट १४ वटा मिसाइल र २५० वटा भन्दा बडी ड्रोन हमला भएको बताएको छ। तीमध्ये कैयौं हमला राजधानी किभतर्फ लक्षित थियो।