काठमाडौँ, वैशाख ४ गते । सत्तापक्ष नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र र कार्यदलको बैठकले सरकारका कामकारबाही सकारात्मक दिशामा रहेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेता सम्मिलित बैठकले आर्थिक सुधार र राजनीतिक स्थिरताका सन्दर्भमा सरकार सही ‘ट्र्याक’ (बाटो) मा रहेको निष्कर्ष निकालेको हो । बैठकपछि गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले सरकारको कामकारबाहीलाई अझै तीव्रता दिनुपर्ने समझदारी भएको बताउनुभयो । साथै उहाँले सत्ता सहयात्रामा कुनै समस्या नरहेको पनि बताउनुभयो । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सरकारका कामकारबाहीको आलोचना गरिरहँदा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता साझेदार दलमा खटपट नरहेको प्रस्ट पारेको छ ।
गृहमन्त्री लेखकले भन्नुभयो, “समसामयिक राजनीतिक सन्दर्भमा कुरा भएको छ । बाहिर जुन ढङ्गले सरकारमा समस्या भयो कि भन्ने कुरा आइरहेको छ, दुई दलबिचमा समस्या भयो कि भन्ने कुरा आइरहेको छ, त्यस्तोखालको कुनै समस्या छैन । शीर्ष नेतासहित हामी बसेका छौँ । सरकारका कामलाई अझै गतिशील बनाउन बलियो समझदारी निर्माण भएको छ ।”
बैठकमा एमाले तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,महासचिव शङ्कर पोखरेल प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालसहितका नेता सहभागी हुनुहुन्थ्यो ।
शिक्षकका माग संसदबाटै सम्बोधन
दुई दलीय संयन्त्र र कार्यदलको नियमित बैठकले शिक्षकका माग संसदबाटै सम्बोधन गर्ने निष्कर्ष निकालेको छ । गृहमन्त्री लेखकले भन्नुभयो, “मन्त्रीपरिषद्को मङ्गलबारको
बैठकले नै शिक्षकको आन्दोलनका मुद्दालाई सम्बोधन गरेको छ । सरकारले शिक्षकसँग पनि संवाद गरिरहेको छ । शिक्षकका माग आगामी अधिवेशनबाट सम्बोधन हुन्छन् ।”
उहाँले शिक्षकको माग पनि शिक्षा विधेयकलाई निष्कर्षमा पु¥याउनुपर्ने नै भएकाले यो विषय टुङ्ग्याउन पनि बोलाइएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यही अधिवेशनबाटै शिक्षा विधेयक निष्कर्षमा पुग्छ । त्यही ढङ्गले शिक्षकले लिनु पर्छ ।” गृहमन्त्री लेखकले सरकारको कार्यशैलीका सन्दर्भमा पनि छलफल भएको बताउनुभयो ।
उहाँले नेपाल राष्ट्र बैङ्कबाट सार्वजनिक पछिल्लो प्रतिवेदनले पनि आर्थिक सुधारको सङ्केत गरेका कारण सरकारको गति ठिक ढङ्गले अघि बढेको छ भन्ने पुष्टि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यी कुरा तथ्य र तथ्याङ्कले हेर्नु पर्छ, भाषणमा मात्रै हेरेर हुँदैन ।”
गृहमन्त्री लेखकले गभर्नर नियुक्त गर्न गठित सिफारिस समितिले छलफल गरेर प्रकृया अघि बढाउने बताउनुभयो । उहाँले त्यो विषयमा दलहरूबिचमा कुनै समस्या नरहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “त्यो प्रकृयागत रूपमा अघि बढ्छ । यसमा कुनै समस्या छैन ।”