
धूलिखेल,काभ्रे ।काभ्रेमाआजबाट सुरु हुने भनिएको युवा महोत्सव अन्तिम समयमा स्थगित भएको छ ।
मुख्य आयोजक रहेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम हिजो काठमाडौंमा पक्राउ परेपछि महोत्सव बारे अन्योलता सिर्जना भएको थियोे ।
जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिम बहादुर तामाङसहितको टोली महोत्सव बारे छलफलका लागि प्रमुख गौतम भेट्न हिजै काठमाडौं पुगेको जानकारी प्राप्त भएको छ । प्रमुखसँगको छलफलपछि महोत्सव स्थगित गर्ने निर्णय भएको हो ।
गौतम बैंकिङ कसूरको मुद्दामा हिजो बिहान काठमाडौंमा पक्राउ परेका थिए । प्रहरीले गौतममाथि थप अनुसन्धान अघि बढाएको छ ।
काठमाडौं विश्वविद्यालय परिसरभित्र १ लाख युवाको सहभागिता रहने आयोजकले दावी गरेका थिए । यस्तै ७५ देशका १० हजार प्रतिनिधि, २ सयभन्दा बढी वक्ताहरू र ३ लाखभन्दा बढी युवा भेला हुने महोत्सवमा ५० भन्दा बढी विभिन्न गतिविधिका कार्यक्रम रहने बताइएको थियो ।
चैत १४ देखि १८ गतेसम्म धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा विश्व युवा महोत्सव हुने तय भएको थियो ।
तर काभ्रे जिल्ला समन्वय समितिका प्रमुख गौतमलाई प्रहरीले पक्राउ गरेपछि अन्तिम समयमा उक्त सम्मेलन स्थगित भएको हो ।

