मुक्तकहरु
निशा के.सी.
१.
शरीरका रोमरोममा मेरै नाम खोप भन्छौ
त्यो कोमल हृदयमा मायाको बिज रोप भन्छौ
सारा बन्धन तोडेर म आकाशमा उडुँ भन्छु
तिमी मायाको पखेटाले मलाई छोप भन्छौ ।
२.
आँखामा आँसु भएनि मुस्कानले ओठ भरिरहन्छन्
सकारात्मक मान्छेहरू स्वयंमा विश्वास गरिरहन्छन्
जतिसुकै उचाइमा पुगेपनि एकदिन झर्ने नै हो तर
पारिजातहरू झरेर पनि धर्तीमा सुगन्ध छरिरहन्छन् ।
३.
म बतास, तिमी सिमलको मुलायम भुवा हूनुपर्छ
कहिले तिमी, कहिले म हार्ने, प्रेमिल जुवा हुनुपर्छ
एक अँजुली पिएर पनि अति तृप्त भएको छु म
पक्कै ! तिम्रो हृदयमा, तिर्खा मेट्ने कुवा हुनुपर्छ ।
४.
जीवन जिउन , जीवनमा प्रेमरंग नघोली सुखै छैन
उषाले ढक्ढकयाएपछि दैलो नखोली सुखै छैन
रिसको झोकमा खाएको कसमको के कुुरा गर्नु
यत्ति मायाले बोलाउँछौ तिमी,मैले नबोली सुखै छैन ।
५.
ऊ टुप्पो हो, फेद हो र जरा हो
ऊ कठै हो, दुःखी हो र बरा हो
त्यति हुँदाहुँदै पनि सबैभन्दा माथि
ऊ मन हो, माया हो र धरा हो ।