कृति : आगो
विधा : कवितासंग्रह
कवि : दीप्स शाह
सुन्दर बिम्बहरुको प्रयुक्तिले कविता राम्रा हुने हो । ह्रदयले लेखिएका कविताले पाठकको मन छुने हो । वाक्यको गठन र कविताको शिर्षक अनुसारको बहाव आदिले कविता पठनीय हुने हो । यस्तै छन् कवि दीप्स शाहका आगो भित्रका कविताहरु। यस कृतिभित्र ३२ वटा विभिन्न शिर्षकृत कविताहरु छन् । तिनीहरु कवि ह्रदयले बोध गरिएर लेखिएका छन् । भावनाका उत्ताल तरंगमा तरंगित भएर कोरिएका कविताहरु छन् । शिर्षक कविता शक्तिशाली बिम्ब आगोमा आएको छ । कविले समानताको गीत गाएकी छन् । कलमजिवीहरुको मन छोएकी छन् । आशावादी बन्न सुझाएकी छिन् त्यसैले सपना तुहाउन नहुनेमा उनको जोड छ । खराव कुराहरु बगाएर लैजाने बाढीको आवश्यकता महसुस गरेकी छिन् शाहले । युग नायककी आमा बन्ने रहर छ उनलाई । यस्तै यस्तै परिवर्तनका लागि लेखिएका कविताहरु छन् ।
आगोलाई राम शाह राजाले वि.सं.२०६७ मा प्रकाशनमा ल्याएका हुन् ।
कृति : घनचक्कर
विधा : उपन्यास
उपन्यासकार : सञ्जीव उप्रेती
सञ्जीव उप्रेतीको घनचक्कर उपन्यास अहिले पनि उत्तिकै समसामयिक लाग्छ । देशको राजनीतिक द्धन्द्धले विक्षिप्त पारिएको एउटा तथाकथित पागलको मनोदशालाई कथाको मूख्य विषय यस उपन्यासले बनाएको छ । देशको दुरावस्थाले नागरिकमा छाएको निराशालाई यसले चित्रण गरेको छ । नागरिकको मनोदशा मज्जैले पढ्न पाइन्छ । नेपालको प्रशासनिक,आर्थिक र सामाजिक क्षेत्रका विसंगतिहरु पनि यसमा औल्याइएको छ ।
उपन्यासमा मूल कथाको अलावा विभिन्न उपकथा,ऐतिहासिक स्थान ठाउँ ,परिवेशहरु पनि पढ्न पाइन्छ ।
संरचनात्मक रुपले बलियो,सुन्दर कलाशिल्पमा लेखिएको उपन्यासभित्र विभिन्न बिम्ब र प्रतिकहरु उतिक्कै पाउन सकिन्छ ।
घनचक्करलाई पहिलो पटक नेपालयले सन् २००७ मा प्रकाशनमा ल्याएको हो ।