काठमाडौं । उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ मा पुनः मत गणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
दलहरूले बदर मत बढाएको भन्दै गए राति १ बजेदेखि मतगणना स्थगित गरेका थिए।
सोमबार बिहान पटकपटक सर्वदलीय बैठक बस्दा पनि दलहरूबीच सहमति जुट्न नसकेपछि निर्वाचन अधिकृतले आयोगसँग सहयोग मागेका थिए।
प्रमुख जिल्ला निर्वाचन अधिकृत दीपक दाहाल -‘दलहरूका फरकफरक कुरा आएपछि सर्वदलीय बैठकमा सहमति जुट्न सकेन। त्यसपछि हामीले आयोगसँग सहयोग माग्यौं। अहिले आयोगले नै पत्र पठाएर पुनः गणना गर्नु भनेपछि हामीले दलहरूलाई जानकारी गराएका छौं।’
कुल पाँच सय मत गणना गरेकोमा २२० मत बदर भएपछि गणना स्थगित गरिएको थियो। दलहरूले निर्देशिका विपरीत सदर हुनुपर्ने मतलाई पनि बदर संख्यामा गणना गर्न जोडबल गरेपछि निर्वाचन अधिकृतले गणना स्थगित गरेका थिए।
सोही विवाद मिलाउन सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो। जसमा माओवादी केन्द्रको मत गणना पुनः सुरू गर्नुपर्ने माग थियो। एमालेको भने गणना भइसकेको मतलाई मानेर बाँकी मत गणना गर्नुपर्ने अडानमा थियो ।







