
काठमाडौ ।गृहमन्त्री रमेश लेखकले संसदबाट विधेयक निर्माणमा ढिलाइ भए सरकारले ल्याएकै विधेयक पास हुने गरी व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयकमाथि छलफलका क्रममा उनले कानुन निर्माणमा संसदबाट परिणाम नआएको बताए।
‘ढिला भयो, ढिला भयो, धेरै ढिला भयो,भन्दै गृहमन्त्री लेखकले समितिमा भने- ‘हाम्रो विधि निर्माण अत्यन्त कमजोर भएको छ। ज्यादै स्लो भएको छ। संसदमा पुगेका कानुनका रूपमा निष्कर्षमा पुग्न झन् ढिला भयो।’
विधेयकले निश्चित समय भित्र संसदीय प्रक्रिया पूरा नगरे सरकारले ल्याएकै विधेयक पास हुने व्यवस्था गर्नपर्नेमा जोड दिए । यसको निम्ति प्रतिनिधि सभा नियमावली र राष्ट्रिय सभाको नियमावली संशोधन गरेर यो व्यवस्था गर्न सकिने बताए।
गृहमन्त्रीले भने -‘समितिमा कति दिन राख्ने ? ३० दिन, ६० दिन ९० वा १४० जति चाहिन्छ राखौं। यदी त्यो समयमा नआए जुन रूपमा आएको छ। समितिबाट जाने व्यवस्था गरौं ।’





