काठमाडौं ।सिन्धुपाल्चोकको मेलम्ची नदीबाट पठाएको पानी काठमाडौं आइपुगेको छ।
दैनिक २२ करोड लिटर आउने गरी पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।
बर्खायाममा मेलम्चीको बहाव बढी भएकोले दैनिक २२ करोड लिटरभन्दा धेरै पानी ल्याउन सकिनेछ। तथापि अहिले दैनिक २२ करोड लिटर मात्रै पानी पथान्तरण गरिएको पनि उनले बताए ।
‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी मात्रै प्रशोधन गर्न सक्ने रहेछ, अर्को प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छैन, त्यसैले बढी भएको पानी अहिले बागमती नदीमा बगाइएको छ,’ उनले भने।
उनकाअनुसार मेलम्चीको पानी मंगलबारदेखि काठमाडौंमा वितरण सुरू भइसकेको छ।