काठमाडौं । पछिल्लो एक हप्तादेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ,टेकुमा डेंगुका बिरामीको चाप बढ्दो छ ।
आइतबार मात्रै आकस्मिक कक्षमा १७ जना डेंगुका बिरामी भर्ना भए । ‘हिजो बेलुका आकस्मिक कक्षको सबै बेड भरियो । प्यासेजमा राखेर उपचार गनुपर्यो’, आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवले बताए ।
पछिल्लो १० दिनयता डेंगु संक्रमितको संख्या ह्वातै बढेको छ ।
अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा। विमल शर्मा चालिसेका अनुसार पछिल्लो हप्ता डेंगु संक्रमित भर्ना हुने दर ह्वातै बढेको छ । ‘आइतबार मात्रै २० जनाभन्दा बढीलाई डिस्चार्ज गयौं । त्यसको साथ–साथ भर्ना हुने दर र प्रयोगशालामा परीक्षण गर्न आउने संख्या बढ्दो छ,’ डा। चालिसेले भने ।टेकु अस्पतालको तथ्यांक अनुसार असोज १ गते– ११, २ गते –३ , ३ गते –२३, ४ गते –२८, ५ गते – १९ र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भएका छन् ।
डेँगु सबैभन्दा बढी गण्डकी प्रदेशमा ५ हजार ४८२ जना संक्रमित भएका छन् । कास्की, तनहुँमा संक्रमण फैलिरहेको छ । त्यस्तै बागमती प्रदेशमा भने ३ हजार १७८ जनामा संक्रमण भएको छ ।
अझै तीन हप्ता डेंगु संक्रमण तीव्र रूपमा फैलिने हुँदा सतर्कता अपनाउनुपर्ने महाशाखाका किटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहाल बताउँछन् ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल हुन्छ ।डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ ।डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।
विज्ञहरुका अनुसार लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्ने,घर वरिपरि पानी जम्न नदिने,पानी राख्ने भाडाहरु सफा राख्ने,लामखुट्टेका फूलहरु नष्ट गर्ने,झ्याल ढोकाहरु बन्द राख्ने,लामखुट्टे देख्यो कि नष्ट गर्ने जस्ता रोकथामका उपाय हुन् ।

