
काठमाडौं । क्यानडाले आईसीसी क्रिकेट विश्व लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली ओमानविरुद्ध ५८ रनको जित निकालेको छ ।
जारी शृंखलामा क्यानडाको यो पहिलो जित हो । यसअघि क्यानडाले ओमान र नेपालसँग हार व्यहोरेको थियो ।
यता, ओमानको यो लगातार दोस्रो हार हो । यसअघि क्यानडालाई हराएको ओमान नेपालसँग पराजित भएको थियो ।
बिहीबार अल अमिरेत रंगशालामा क्यानडाले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा १९८ रनमै समेटियो ।
ओमानका हम्माद मिर्जाले ४९, हसनैन उल वाहबले २९, हसनैन शाहले २७, जय ओडेदराले अविजित १८, जतिन्दर सिंह र नदिम खानले १३–१३, कप्तान विनायक शुक्लाले ११ र मुजिबर अलीले १० रन बनाए ।
क्यानडाका जाहिद शिर्जाद र सहिल पटेलले तीन-तीन, कलिम सानाले दुई तथा हर्ष थाकरले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्याडानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २५६ रनको योगफल तयार पारेको थियो ।
क्यानडाका समित गोहेलले सर्वाधिक ६७ रनको योगदान गरे । उनले ८५ बलमा पाँच चौका प्रहार गरे । यसैगरी, आदित्य वर्दराजनले ५५, कप्तान हम्जा तारिकले अविजित ३७, ओरोन जोनसनले ३३, सहिल पटेलले २० र हर्ष थाकरले १३ रन बनाए ।
ओमानका हसनैन शाहले तीन, जय ओडेदरा र मुजिबर अलीले दुई–दुई तथा सकिल अहमद, नदिन खान र करण सोनावालेले एक–एक विकेट लिए ।
जितसँगै क्यानडाले नेपालमाथि दबाब बढाएको छ । टोलीले नेपालसँगको दूरी घटाएर एक अंकमा झारेको छ ।
हाल क्यानडा ३५ खेलबाट २७ अंकका साथ सातौँ स्थानमा छ । एक खेल कम खेलेको नेपाल २८ अंकका साथ छैटौँ स्थानमा छ ।
पराजित ओमान ३१ खेलबाट ३३ अंकका साथ चौथो स्थानमा छ ।
अब क्यानडाले शनिबार र ओमानले सोमबार नेपालको सामना गर्नेछन् ।


