
काठमाडौँ । लघुकथा समाज,नेपालले बडादशैँ,तिहार,न्हयू दया भिन्तुना,छठ लगायतका चाडपर्वको पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान तथा लघुकथा गोष्ठी गरेको छ ।
ठमेल चिबहालमा सोमबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष अग्रज साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले शुभकामना भनेको अवसर बनाएर प्रयोग गर्ने कुरा नभएको बताए । ‘भेट हुँदा हात नमिलाउने,नबोल्ने अनि फेसबुकका वालमा शुभकामनाका ठूला कुरा लेखेर पोष्ट्याउने काम राम्रो होइन । अरुले भन्दै आएको कुरा स्रष्टा सर्जकहरुले पछ्याएर मात्र हुँदैन् । हामी सिर्जनाकर्ममा लागेकाहहरुले चाडपर्वलाई परम्परागत रुपमा शुभकामना दिनुपर्छ भन्ने हुँदैन् ।’

उनले परम्परा यस्तो बस्यो कि अग्रजले भनेकै कुराको पछि लागिदिनुपर्छ भन्ने नहुने भन्दै सिर्जनशीलतामा हर कुरा विचार गरेर मात्र गर्न आग्रह गरे । लुघकथाको बारेमा आफ्नो धारणा राख्दै ‘रोदन’ ले भने,’लघुकथा लेख्नेको संख्या बढ्नुु खुशीको कुरा हो तर लघुकथा लखेर पुस्तकको संख्यामा बढोत्तरी हुँदा लघुकथाको प्रतिष्ठा बढेको छ कि छैन् भन्ने प्रश्न महत्वपूर्ण छ ।’ हामीले आफैँलाई फर्केर हेर्नुपर्ने भन्दै लघुकथा अभियानलाई क्रुरताका साथ हेर्नुपर्छ भन्ने तर्क गरे । ‘भोटेकोशी र बुढी गण्डकीमा आएको बाढीजस्तो लघुकथामा आएको बाढीको केही अर्थ हुँदैन् । हामी सबैमा हिम्मत हुनुपर्छ नराम्रो कुरालाई नराम्रो भनुँ ।’ उनको जोड थियो ।
उनले आफ्नो लघुकथा समेत सुनाए ।
अतिथि लघुकथाकारहरु ध्रुव मधुकर्मी,नारायण तिवारीले शुभकामना मन्तव्य सहित आ-आफ्नो लघुकथा सुनाए ।
कार्यक्रममा लघुकथाकारहरु सुमन सौरभ, लता केसी,तुलसीहरि कोइराला,देवा अधिकारी,शुषमा चित्रकार,खेमराज पोखरेल,राजेश खनाल,डा. हरिप्रसाद भण्डारी,प्रदीप सापकोटा,मनिष कुमार शर्मा समित,भीम राना जिज्ञासु, तारा केसी लगायतले आआफ्नो लघुकथा वाचन गरे ।
यसैगरी मधु पाठक,गोकुल अधिकारी,विनोद नेपाल,श्रीबाबु कार्की लगायतले शुभकामना मन्तव्य राखे ।
चिवहाल परिवारसँगको सहकार्यमा सम्पन्न कार्यक्रम लघुकथा समाज,नेपालका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा एवं सदस्य तारा केसीको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई महासचिव सुमन सौरभले स्वागत गरे भने डा.केशव श्रेष्ठले खादाद्धारा सम्मान गरे ।
