
काठमाडौँ ।नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
बेलायती सेनाका प्रधानसेनापति जनरल सर रोली वाकरको निमन्त्रणामा प्रधान सेनापति सिग्देल असोज १९ देखि २५ गतेसम्म बेलायतमा रहनेछन् । भ्रमणका क्रममा दुई देशका सेनाबीचको आपसी सम्बन्ध र सैनिक सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।
प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए । नेपाली सेनाले भ्रमणले लामो समयदेखि कायम नेपाल–बेलायत सैनिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।




