
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुडिएको छ ।
बुधबार बिहान पुलको बीचको एक पोल महाकाली नदीले बगाएपछि पुल चुडिएको हो ।महाकाली नदीमाथि निर्माण गरिएको यो पुल दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्ने महत्वपूर्ण संरचना रहेको थियो ।
नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदलयात्री पुलमध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ ।
महाकाली नदीले छुट्याएको दोधारा र चाँदनी क्षेत्रलाई जोड्ने यो पुलले भारत–नेपाल सीमासँग जोडिएको नेपाली भूभागमा आवतजावत सहज बनाउँदै आएको थियो । यो पुल भीमदत्त नगरपालिकाबाट करिब १२ किलोमिटर दक्षिणपश्चिममा, महाकाली बाँधभन्दा करिब ८ किलोमिटर तल तथा भारतीय सीमाबाट करिब ५.५ किलोमिटर दक्षिणतर्फ रहेको छ । दोधारा–चाँदनी झोलुङ्गे पुलमा २०६२ सालदेखि आवतजावत शुरु भएको थियो ।


