वीरेन्द्र पाठक
बन्न नसके तापनि …
बन्न नसके तापनि सबैलाई रिझाउने
बन्दै नबनूँ म काँडा कसैलाई बिझाउने ।
ल्गाएको लुगा मेरो त्यति किमती नहोला
रूप राम्रो छैन त्यसमा पनि विमति नहोला
जतिसुकै होऊन् मान्छे यहाँ मलाई गिज्याउने
बन्दै नबनूँ म काँडा कसैलाई बिझाउने ।
मानिसको व्यवहार एउटै त हुँदै हुन्न
कुनैले मन छोइहाल्छ, कुनै मनमैत्री हुन्न
जतिसुकै होऊन् मान्छे यहाँ मलाई होच्याउने
बन्दै नबनूँ म काँडा कसैलाई बिझाउने ।
०००
तिम्रो सम्झनामा …
तिम्रो सम्झनामा म आउँछु आउँदिन
तिम्रो मनमा बसिरहन पाउँछु पाउँदिन ।
तिमीलाई याद धेरै मैले नि गर्या छु
भन, के तिम्रो नजरमा म पनिपर्र्या छु
भनेजति तिमीलाई गाउँछु गाउँदिन
तिम्रो मनमा बसिरहन पाउँछु पाउँदिन ।
अलिअलि नजिक हुने यहाँ धेरै होलान्
नजिक भए जस्तो गर्ने पनि धेरै होलान्
दिनदिनै मन–मन्दिरमा धाउँछु धाउँदिन
तिम्रो मनमा बसिरहन पाउँछु पाउँदिन ।
००