
काठमाडौँ । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को नविनतम् नियात्रासङ्ग्रह ‘विदेशमा देश’को लोकार्पण भएको छ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्धारा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा घनश्याम राजकर्णिकार, प्राडा लक्ष्मणप्रसाद गौतम, प्रमोद प्रधान, छविरमण सिलवाल, केशव पराजुली, ‘रोदन’ दम्पति लगायतले उक्त कृति लोकार्पण गरे ।
दर्जन भन्दाबेसी मौलिक कृति र डेढ दर्जन जति कृति सम्पादन गरिसकेका ‘रोदन’ का प्राय नियात्रा आफुले पढेको बताउँदै घनश्याम राजकर्णिकारले भने, ‘रोदनका कृतिहरु तथ्यको सन्निकट भएको पाएको छु । उनका नियात्राहरु विवरणात्मक मात्र हुँदैनन्,निजात्मक पनि हुन्छन् । अझै उनको निरन्तर भाषा साहित्यको सेवा गर्ने कुरा अनुकरणीय छ ।’
कृतिमाथि चर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले भने, ‘श्रीओम नढाँटी लेख्ने इमान्दार लेखक हुन् । नियात्राहरु अरुको भन्दा पृथक पनि लाग्छन् । देखेको कुरा जसले नि लेख्छ तर फरक ढङ्गले लेख्नुपर्छ,उनको लेखनीमा यहि फरकपना छ ।’

कृतिमा विदेशका विभिन्न सन्दर्भहरु र परिवेशहरु आएको बताउँदै उनले अगाडि भने,’ तथ्यहरु भएको नियात्रामा पाठकले विभिन्न विषयहरुसँग स्वदेशलाई तुलना गर्न सक्छन् । विकसित देशका राम्रा पक्षमात्र नभएर कमजोरी पनि केलाइएको छ । नियात्रामा सहयात्रीसँग वार्ता पनि गरिएको छ । सुक्ष्म विषयहरु पनि आएका छन् । काव्यात्मक चेत र दार्शनिक वाक्यहरु पनि प्रयोग भएका छन् ।’
प्रा.डा.लक्ष्मणप्रसाद गौतमले रोदनमा भएको सिर्जनशील उर्वरताको प्रशङ्सा गरे । प्रा.डा.गौतमले ‘रोदन’ का रचनाहरु स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयहरुमा पढाई हुने गरेको पनि बताए । उनले साहित्यिक क्षेत्रमा देखिएको पुरस्कार लेनदेनको विषयलाई विकृतिको रुपमा औँल्याए ।
‘रोदन’की धर्मपत्नी ललिता श्रेष्ठले १३ औँ कृति प्रकाशन भएकोमा खुशी बाँड्दै पुराना दिनहरु स्मरण गरिन । उनले रोदनसँगका विभिन्न अनुभूतिहरु साझा गरिन ।
भुँडीपुराण प्रकाशनका केशव पराजुलीले अग्रज साहित्यकारको कृति प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गर्दै कृतिको निम्ति ‘रोदन’लाई बधाई दिए ।

कार्यक्रम छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो । शुभद्रा अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव प्रदीप सापकोटाले गरे ।
‘रोदन’ का ‘नर्विसने दिनहरु’ र ‘समुन्द्र वारि समुन्द्र पारि’ दुई नियात्राकृति सहित विभिन्न विधाका तेह्रवटा कृतिहरु प्रकाशित छन् ।
‘विदेशमा देश’ लाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।


