
धादिङ । लगातारको वर्षाका कारण पहिरो गएर विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्ला र आसपासका क्षेत्रमा विगत दुई दिनदेखि निरन्तर वर्षा भइरहेको र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको जनाएको छ ।लगातार परेको बर्षका कारण कृष्णभीरलगायतका स्थानमा पहिरो गएको छ भने धारापानीसहितका स्थानमा सडक भाँसिएको छ ।त्यस्तै नारायणगढ मुग्लिन सडक खण्डमा पनि विभिन्न स्थानमा पहिरो गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना नभएसम्मका लागि सडक आवागमन बन्द गरेको छ ।
आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले समेत सूचना जारी गरेको छ । थप विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको हो ।सम्बन्धित सबैलाई जोखिमयुक्त अवस्थामा यात्रा नगर्न र जारी सूचनाको पालना गर्न आग्रह गरिएको छ ।


