
काठमाडौँ । पोर्चुगलले युईएफए नेसन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराती लिस्बनमा भएको खेलमा पोर्चुगलले वेल्सलाई १–० गोलले पराजित गरेर विजयी शुरुवात गरेको हो । पोर्चुगलको जितमा जोआओ फेलिक्सले निर्णायक गोल गरेका थिए । उनले खेलको २२औँ मिनेटमा गरेको प्रहार वेल्सका कप्तान बेन डेभिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
पोर्चुगलले खेलमा लगातार दबाब बनाए पनि थप गोल गर्न भने सकेन । क्रिस्टियानो रोनाल्डोले गोलका लागि सात पटक प्रयास गरेका थिए भने उनको दोस्रो हाफको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड भन्दै रद्द गरेका थिए । वेल्सले बराबरीका लागि अवसर पाए पनि गोल गर्न सकेन । ब्रेनन जोन्सनको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो भने अर्को अवसरमा रुबेन डियासले गोललाइनबाट बल क्लियर गरेका थिए ।
पोर्चुगलले अब अर्को खेल सेप्टेम्बर २८ मा नर्वेसँग खेल्ने छ भने अक्टोबर २ मा डेनमार्कसँग खेल्ने छ । त्यस्तै, वेल्सले सेप्टेम्बर २७ मा डेनमार्कसँग र अक्टोबर २ मा नर्वेसँग खेल्ने तालिका रहेको छ ।






